तपाईँ सुन्दै हुनुहुन्छः

क्याङ कर्बाकेलीका विद्यार्थी पढ्दै, कमाउँदै

पर्वत । विद्यालय भन्नासाथ कक्षाकोठा, शिक्षक, किताब र परीक्षा सम्झिने गरिन्छ,तर पर्वत जिल्लाको मोदी गाउँपालिका–४ क्याङस्थित कर्बाकेली आधारभूत विद्यालयमा भने विद्यार्थीको सिकाइ कक्षाकोठाभित्र मात्र सीमित छैन । यहाँ विद्यार्थीहरू किताब पढ्नुका साथै तरकारी उत्पादन गर्छन्, वनमा पाइने निउरो सङ्कलन गर्छन् र उत्पादनलाई बजारसम्म पुर्‍याएर बिक्री गर्ने अभ्यास पनि गर्छन् । उनीहरूले गरेको यही अभ्यासले विद्यालयलाई पढाइसँगै जीवनोपयोगी सीप सिकाउने एउटा उदाहरणीय थलो बनाइएको छ ।

वनबाट निउरो, बजारबाट आम्दानी

विद्यालयका विद्यार्थीहरूले स्थानीय क्षेत्रमा पाइने निउरो, काँक्रो, भटमास, आलु तथा अन्य उपज सङ्कलन गरी बिक्री गर्दै आएका छन् । गएको शुक्रवार मात्र विद्यार्थीहरूको सक्रियतामा २१५ किलो निउरो बिक्री गरिएको विद्यालयका प्रधानाध्यापक दिपेन्द्र चापागाँइले जानकारी दिनुभयो । अन्य उत्पादन पनि विभिन्न बजारमा पठाइएको विद्यालयले जनाएको छ ।

स्थानीय स्रोतको पहिचान, सङ्कलन र त्यसको सही उपयोग कसरी गर्ने भन्ने विषय विद्यार्थीले प्रत्यक्ष अभ्यासबाट सिकिरहेका छन् । जङ्गल वा गाउँघरमा पाइने स्रोतलाई केवल उपभोगमा मात्र सीमित नराखी त्यसबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने ज्ञान पनि उनीहरूले सानै उमेरदेखि पाउने गरेको चापागाँइको बुझाई छ ।

टनेलमै सिक्दै तरकारी खेती लगाउन

विद्यालय परिसरमा रहेको प्लास्टिक टनेल र खाली जमिन विद्यार्थीका लागि प्रयोगात्मक कक्षाकोठा बनेको छ । ‘सृजनशील बाल क्लब’मा आबद्ध विद्यार्थीहरूले गोलभेँडा, प्याज, घिरौँला, मुला, बन्दा, काउली, साग लगायतका तरकारी उत्पादन गर्दै आएका छन् ।

बाल क्लबका अध्यक्ष निरज पुनका अनुसार विद्यार्थीहरू उत्पादन र हेरचाहमा सक्रिय छन् । क्लबकी सचिव तथा कक्षा ८ मा अध्ययनरत सजमि फगामीले  टनेलमा उत्पादन भएका तरकारीको बजार व्यवस्थापन गरी बिक्री–वितरण गर्ने काममा पनि ६, ७ र ८ कक्षाका सबै विद्यार्थी सहभागी हुने गरेका बताउनुभयो । यी कार्य आफूहरूले गर्दा विद्यार्थीले बीउ रोप्ने, बिरुवाको हेरचाह गर्ने, उत्पादन लिने र बिक्रीका लागि तयार पार्ने सम्पूर्ण प्रक्रिया बुझ्ने अवसर पाएका छन् ।

उत्पादनदेखि बजारीकरणसम्मको व्यावहारिक शिक्षा

कर्बाकेली विद्यालयको अभ्यास केवल तरकारी उत्पादनमा सीमित छैन । विद्यार्थीहरू उपज सङ्कलन, उत्पादन, प्रशोधन, प्याकिङ र बिक्रीका लागि तयारी गर्ने सीप पनि सिकिरहेका छन् । गाउँमा हुने मेला–महोत्सवजस्ता अवसरमा उनीहरूलाई प्रत्यक्ष रूपमा बिक्री प्रक्रियामा समेत सहभागी गराइन्छ । किताबमा पढेको विषयलाई व्यवहारमा उतार्ने अवसर पाउँदा विद्यार्थीमा आत्मविश्वास बढ्नुका साथै श्रमप्रतिको सम्मान र सहकार्यको भावना विकास हुने विद्यालयको विश्वास छ । दुर्गम क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीले उत्पादन गरेका सामग्री बजारसम्म पुर्‍याउन सहज छैन । त्यसैले शिक्षक–शिक्षिकाहरूले उत्पादनको बजार व्यवस्थापनमा समन्वय गर्दै आएका छन् ।

विद्यार्थीले उत्पादन गरेको निउरो, तरकारी तथा अन्य सामग्री बिक्री गर्न शिक्षकहरूको सहयोग र सहजीकरण हुने गरेको छ । यसले विद्यार्थीले उत्पादन गरेपछि त्यसलाई बजारसम्म कसरी पुर्‍याउने भन्ने व्यावहारिक अनुभव पनि प्राप्त गरेका छन् ।

आफ्नै उत्पादनको आम्दानी, आफ्नै हितमा खर्च

कृषि तथा वनजन्य उत्पादन बिक्रीबाट प्राप्त रकम विद्यार्थीको हितमा खर्च गरिँदै आएको छ । विद्यालयका प्रधानाध्यापक दीपेन्द्र चापागाईंका अनुसार उक्त रकम विद्यार्थीको पोसाक, टाई, बेल्ट, परिचयपत्र तथा विभिन्न शैक्षिक कार्यक्रमका पुरस्कार व्यवस्थापनमा प्रयोग हुँदै आएको छ ।

विद्यार्थीले गरेको मेहनतबाट आएको आम्दानी फेरि उनीहरूकै शैक्षिक आवश्यकतामा खर्च हुँदा बालबालिकामा श्रम र उत्पादनप्रतिको सकारात्मक सोच विकास भइरहेको चापागाईँको अनुभव छ ।

स्थानीय पालिका ‘हाम्रो मोदी’सँग जोडिएको सिकाइ

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमसँगै स्थानीय पाठ्यक्रम ‘हाम्रो मोदी’ अन्तर्गत बाल विकासदेखि कक्षा ८ सम्मका विद्यार्थीलाई उमेरअनुसार विभिन्न व्यावहारिक सीप सिकाइँदै आएको छ । फूलबारी, तरकारी खेती, कृषि उत्पादन तथा स्थानीय स्रोतको सदुपयोग सम्बन्धी ज्ञानलाई व्यवहारसँग जोडिएको छ ।

अहिले विद्यालयमा ७२ जना विद्यार्थी अध्ययनरत छन् । उनीहरूलाई किताबी ज्ञानसँगै जीवनमा उपयोगी हुने सीप सिकाउने उद्देश्यका साथ विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन् ।

क्याङ कर्बाकेली  विद्यालयले दिएको प्रेरक सन्देश

सानै उमेरदेखि किताबको ज्ञानसँगै व्यवहारमा काम गर्ने अवसर पाउँदा बालबालिकाले जीवनका लागि आवश्यक धेरै सीप सिक्न सक्छन् भन्ने उदाहरण कर्बाकेली आधारभूत विद्यालयले प्रस्तुत गरेको छ ।

यहाँ विद्यार्थीको हातमा किताब पनि छ, माटो पनि छ । उनीहरू पढिरहेका पनि छन् र उत्पादन पनि गरिरहेका छन् । उनीहरू तरकारी फलाउन मात्र होइन, त्यसलाई बजारसम्म पुर्‍याउन पनि सिकिरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button