शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड ३७ लाखको राहत
बाँके।शुभ सन्देश सभा नेटवर्क–नेपाल, बाँकेले नुवाकोटको विदुर नगरपालिका–९ का भोटेकोशी बाढी प्रभावित परिवार तथा विद्यार्थीलाई एक करोड ३७ लाख नौ हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ ।
भोटेकोशी बाढीबाट घरबार तथा आफन्त गुमाएका प्रभावित परिवारलाई लक्षित गरी खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो ।
राहतबाट विदुर नगरपालिका–९ का करिब सात सय प्रभावित परिवार र एक हजार पाँच सय विद्यार्थी लाभान्वित भएको नेटवर्कका अध्यक्ष डा. डक्टप्रसाद धितालले जानकारी दिनुभयो ।
राहत वितरण कार्यक्रममा वडाध्यक्ष हरिराम भण्डारीले विपद्का बेला सामाजिक संस्थाले गरेको सहयोगले प्रभावित परिवारलाई ठूलो राहत पुगेको बताउनुभयो ।
उहाँले भोटेकोशी बाढीबाट विस्थापित परिवारको तत्कालीन आवास व्यवस्थापनका लागि नगरपालिकाले मासिक कोठा भाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो ।
नेटवर्कका अध्यक्ष डा. धितालले विपद् सकिएपछि पनि प्रभावितको दुःख नसकिने भएकाले तत्कालीन राहतसँगै उनीहरूको आत्मबल बढाउन सहयोग गरिएको बताउनुभयो ।
उहाँले घर र सम्पत्ति गुमाएका बालबालिकाको शिक्षामा असर नपरोस् भन्ने उद्देश्यले विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको बताउनुभयो ।
राहत पाएपछि प्रभावित स्थानीय सुखमायाले आफन्त र घर गुमाएको पीडाका बीच सहयोग पाउँदा आफूहरू एक्लो नभएको अनुभूति भएको बताउनुभयो ।
उहाँले राहत सामग्रीले विपद्पछिको कठिन अवस्थामा ठूलो सहयोग पुगेको बताउनुभयो ।राहत वितरण कार्यक्रममा संस्थाका पदाधिकारी तथा पत्रकारहरूको सहभागिता थियो ।






प्रतिक्रिया राख्नुहोस्