तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री चौधरीद्वारा कोरला नाकाको स्थलगत निरीक्षण

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चीनसँगको सीमा जोडिएको कोरला नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा आज मन्त्री चौधरीले नाकाबाट हुने कृषि तथा पशुजन्य वस्तुको आयात–निर्यातको अवस्था, त्यसका लागि आवश्यक पूर्वाधार तथा प्रक्रियाबारे सम्बन्धित अधिकारीहरूसँग जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँले विशेषगरी स्थानीय उत्पादन तथा कृषि उपजको व्यापारलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक व्यवस्थाबारे जिज्ञासा राख्नुभएको थियो । मन्त्री चौधरीले कोरला नाका हुँदै हुने कृषि तथा पशुजन्य वस्तुको व्यापारमा देखिएका समस्या पहिचान गरी आवश्यक सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

त्यसैगरी, मुस्ताङको महत्त्वपूर्ण पशुजन्य व्यापारका रूपमा रहेको च्याङ्ग्राको ओसारपसार तथा व्यापारलाई व्यवस्थित र सहज बनाउन क्वारेनटाइनसम्बन्धी व्यवस्थामा विशेष ध्यान दिनुपर्ने विषयमा पनि उहाँले चासो राख्नुभएको थियो । च्याङ्ग्रा व्यापारमा अनावश्यक झन्झट नहुने गरी स्वास्थ्य तथा पशुजन्य वस्तुको सुरक्षा मापदण्ड कायम राख्दै प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा मन्त्री चौधरीको जोड थियो ।

उहाँले सीमा नाकामा कृषि तथा पशुजन्य वस्तुको आयात–निर्यातसँग सम्बन्धित कार्यालयहरूबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै स्थानीय व्यवसायी तथा कृषकले सहज रूपमा व्यापार गर्न सक्ने वातावरण निर्माण गर्न मन्त्रालयले आवश्यक पहल गर्ने बताउनुभयो ।

सो अवसरमा गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री नम्डु गुरुङ, सङ्घीय सांसद योगेश गौचन थकालीलगायत उपस्थित हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button