रसुवा-त्रिशूली बाढी: विनाशकारी प्रलयपछिको मौनता र बगरमा परिणत बस्ती
'७२ को भूकम्प र राजनीतिक हलचलपछिको अर्को ठूलो बज्रपात'
काठमाडौँ। विसं २०७२ को विनाशकारी भूकम्पको पाँच-छ वर्षपछि देश बिस्तारै तङ्ग्रिँदै थियो। राजनीतिक अस्थिरता र श्रृङ्खलाबद्ध आन्दोलनको दकस त छँदै थियो। विसं २०८२ भदौ २२ र २३ गते नयाँ पुस्ताको आक्रोश पोखिएको ठ्याक्कै एक वर्ष नबित्दै फेरि देशलाई ठूलै धक्का पुग्ने गरी रसुवामा एउटा विनाशकारी जलप्रलय आइपर्याे।

पछिल्ला अध्ययनहरूले यसलाई सामान्य बाढीभन्दा पनि हिमाली भेगको ‘स्लोप फेलर’ (Slope Failure) वा ‘डेब्रिस/मास फ्लो’ (Debris/Mass Flow) भनेका छन्। ठूला हिमाली वरफका ढिस्का खसेर तालको पानी, गेग्रान, वरफ र माटो एकैपटक खस्दा यो विपत्ति आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
यसले नेपालका विशेष गरी नुवाकोट र रसुवा जिल्लाका भोटेकोशी किनारका बस्ती, बजार, सडक, पुल, जलविद्युत् आयोजना तथा सरकारी संरचना ध्वस्त पारेको छ। भदौ १० गते बिहान आएको यो बाढी देशकै लागि एउटा दुखद र अकल्पनीय घटना बन्यो। ठूलो जनधनको क्षति भएकाले यसलाई पछिल्लो दशककै सबैभन्दा वितण्डाकारी प्राकृतिक प्रकोपका रूपमा हेरिएको छ।
भोटेकोशीदेखि त्रिशूलीको तटीय क्षेत्रसम्म अकल्पनीय क्षति
भोटेकोशी र त्रिशूली आसपास रहेका रसुवा भन्सार नाकादेखि टिमुरे, स्याफ्रुबेँसी, वेत्रावती, टुप्चे, मैलुङ र त्रिशूली बजार क्षेत्रमा यसले ठूलो भौतिक, मानवीय तथा आर्थिक क्षति पुर्यायो। अधिकांश नदी किनार बगरमा परिणत भए। बाढीको प्रभाव रसुवादेखि त्रिशूली नदीको तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवनसम्म फैलियो।

यस प्रलयकारी बाढीबाट झण्डै चार हजार भवन क्षतिग्रस्त भए भने पच्चीस सयभन्दा बढी घर ध्वस्त भए। हजारौँ मानिस बेपत्ता भए। बेपत्ता भएकाहरूको शव विस्तारै नदी किनारमा भेटिँदै छ। फसेका नागरिकको खोजी तथा उद्धार कार्य तीव्र छ।
शव व्यवस्थापन र पहिचानको समस्या एकातिर छ भने नदी तटीय क्षेत्रमा महामारी वा हैजा फैलने सन्त्रास अर्कोतिर छ। खर्बौँ मूल्यका जलविद्युत् आयोजनामा पुगेको क्षतिले देशको आर्थिक सूचकमै धक्का पुग्न सक्ने अर्थविज्ञहरूको अनुमान छ। आयोजनाभित्र थुनिएका जनशक्तिको उद्धार तीव्र पारिए पनि भौगोलिक कठिनाइका कारण कतिपय क्षेत्रमा राहत वितरणमा समस्या उत्पन्न भएको छ। यद्यपि, केन्द्रीय सरकारको सक्रियता र तदारुकता सराहनीय छ। पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषमा अर्बौँ रकम जम्मा भए तापनि पुनर्र्स्थापनाका लागि खर्बौँ रुपियाँ लाग्ने देखिन्छ।
राहतको तछाडमछाड र पीडितको यथार्थ
पिता बिरामी भएकाले म घरमै छुट्टीमा थिएँ। बुबाको स्याहारसुसार र घरायसी काममा अल्झिएको बेला एक परिचित दाइको फोन आयो— “सानो कामले त्रिशूली जान लागेको, भाइको सहयोग चाहियो।” दाइको मलिन आवाज सुनेर म झस्किएँ।
“कस्तो सहयोग हो दाइ?” मैले सोधेँ।
“त्यस्तो केही होइन, बाढी प्रभावितहरूको अवस्था कस्तो रहेछ भनेर बुझ्न र सम्भव भएसम्म सहयोग गर्न जान लागेको। भाइ फुर्सदमा छौ?”
दाइको अनुरोध अस्वीकार गर्न सकिनँ। यत्रो अकल्पनीय क्षतिमा व्यक्तिगत तर्फबाट धेरै सहयोग गर्ने मेरो क्षमता थिएन। मेरो तलबबाट सरकारले राहत कोषका लागि रकम कट्टा गर्ने निर्णय गरिसकेकै थियो। अर्कोतिर, दाइले अनुरोध गर्दा एक दिनको श्रमदान गर्न ‘बुबा बिरामी हुनुहुन्छ, जान सक्दिनँ’ कसरी भन्नू? अन्ततः म उहाँहरूकै टोलीसँग बाढी प्रभावित क्षेत्रतर्फ लागेँ।
वर्षौँअघि गोसाइँकुण्ड जाँदा हिँडेको त्यही बाटोमा आज टोखाको नयाँ मार्ग हुँदै यात्रा गरिरहँदा मेरो उद्देश्य बिलकुल फरक थियो। बाटोभरि गाडीको लस्कर थियो। राहत बोकेका ट्रक र बोलेरोको घुइँचो, राजनीतिक दलका नेताहरूको सवारी, सवारी जाम, राहत वितरण गर्नेहरू र रमितेहरूको भिड देखिन्थ्यो।
झण्डै पाँच घण्टाको यात्रापछि हामी बाढीले भग्नावशेष बनाएको त्रिशूली बजार पुग्यौँ। बगरमा परिणत भएको बजार, बगर हेर्न ओइरिएका रमितेहरू, र ‘भाइरल घर’ जोगाएको भीरमाथि चुपचाप बसेको गुम्बामा आश्रित पीडितहरूको होल्डिङ सेन्टर देखिन्थ्यो। मैले पुरिएको २५ मेगावाटको पावरहाउस र गेग्रानले थिचेको बजारका फोटोहरू खिचेँ। क्यामेरा बोकेर आश्वासन बाँड्न तँछाडमछाड गरिरहेका विभिन्न दलका नेताहरू र आसपासका जिल्लाबाट बगर हेर्न आएका रमितेहरूको भिडमा म पनि त्यतै कतै मिसिएको थिएँ।
“पूर्वासूचना पाउँदा पनि पत्याएनौँ, ठूलो क्षति भयो” — राजकुमार तामाङ (पीडित)
होल्डिङ सेन्टरमा भेटिएका अन्दाजी ४० वर्षका पीडित राजकुमार तामाङसँग हामीले कुराकानी गर्यौँ। जस्ताको छाना मात्र देखिने आफ्नो घर देखाउँदै उहाँले त्यो दिनको सन्त्रास सुनाउनुभयो। उद्धार र समन्वयमा केन्द्रीय सरकारको सक्रियताको प्रशंसा गरे पनि स्थानीय सरकारको समन्वय र युवा परिचालनमा केही कमजोरी रहेको उहाँले महसुस गर्नुभएको रहेछ।
गेग्रानले पुरेको घरको छततिर रुन्चे आँखा डुलाउँदै उहाँले भन्नुभयो, “धन्न घर मात्रै पुर्यो, परिवारका सबै सदस्य भाग्न सफल भयौँ। भगवान्ले बचाए! बजार क्षेत्रका २० प्रतिशत मानिस मात्र बाँच्न सफल भए कि! धेरैको त भाग्यमै बाँच्न लेखेको रहेनछ।”
उहाँले थप्नुभयो, “रसुवा भन्सार नाकामा बाँचेकाहरूले टिमुरेमा खबर त गरे, तर कसैले पत्याएनन्। चार-पाँच पुस्तादेखि यहीँ बसियो, यस्तो बाढी कहिल्यै देखिएको-भोगिएको थिएन। टिमुरेका मानिसले स्याफ्रुबेँसी र स्याफ्रुबेँसीका मानिसले तल्लो भेगका वेत्रावती र त्रिशूली बजारमा खबर त गरे, तर नपत्याउँदा र बेवास्ता गर्दा ठूलो मानवीय क्षति भयो। सुरुमा त मैले पनि पत्याएको थिइनँ, तर एक्कासि माथिबाट घरै नाघ्ने पानी र लेदोको छाल देखेपछि होसहवासै उड्यो। धन्न भागिसकेकाले परिवार जोगियो। सबै माथिको लेखान्त हो सर ! बाँच्न लेखेकाे रै’छ, बाँचे।
वास्तविक पीडितसम्म राहत पुग्न कठिन
होल्डिङ सेन्टरमा औँलामा गन्न सकिने पीडित मात्र भए पनि राहत बाँड्ने खबर पाउनासाथ चार-पाँच सयको भिड जम्मा भइहाल्ने अवस्था रहेको तामाङले बताए। “वास्तविक पीडित पहिल्याउनै गाह्रो छ सर! काठमाडौँदेखि आउनुभएको रहेछ, राहत वास्तविक पीडितकै हातमा परोस्। यहाँभन्दा माथि बाटो बिग्रेको छ, सक्नुहुन्छ भने वेत्रावतीसम्म पुग्नुस्, त्यहाँ बाढीको वास्तविक रूप देखिन्छ। तुइन तर्नुभयो भने दुप्चे र मैलुङका पीडित भेटिनुहुन्छ। राहतको वास्तविक आवश्यकता त्यहीँ छ,” उहाँले भने।
सडक र पुल बाढीले बगाएकाले माथिल्ला भेगका लागि सेनाको हेलिकप्टरमार्फत उद्धार र राहत सामग्री ओसारपसार भइरहेको छ।
अत्यधिक गर्मी भएकाले म पानी पिउन गाडीभित्र छिरेँ। राजकुमार भाइका कुरा सुन्दासुन्दै घण्टौँ बितिसकेछ। फर्किने समय भइसकेको थियो। घाम लागिरहेकै बेला पानीका छिटाहरू पर्न थाले। म भने गाडीको झ्यालबाट लेदोले पुरेको त्रिशूली बजार नियालिरहेको थिएँ।
पुरिएको बजार एक दिन अवश्य उठ्नेछ, तर अहिले भने क्रूर विपत्तिपछि पनि सुस्केरा हाल्दै बगिरहेको त्रिशूलीको मौनता, बाढीले छोडेको क्रूरता र बगाउन नसकेको डर-सन्त्रास वरपर छरपस्ट थिए। आफ्नै आँखामा त्यो भयावह तस्बिर टाँसेर हामी काठमाडौँ फर्किने तरखरमा थियौँ। अमिलो मन बोकेर म भने मोबाइलमा कैद गरिएका ती भयावह तस्बिरहरू हेर्दै बाढीले पुरेको पीडाभित्र निकै बेर हराइरहेँ। (लेखक पौडेल रेडियो नेपालमा कार्यरत हुनुहुन्छ।)








प्रतिक्रिया राख्नुहोस्