महिनादेखि सडक अवरुद्ध, मुगुमा ग्यासदेखि दैनिक उपभोग्य वस्तुको अभाव
मुगु। भारी वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत झ्यारी–गमगढी र गमगढी–छायलबगर सडकखण्ड करिब एक महिनादेखि अवरुद्ध हुँदा मुगुमा एलपी ग्यास, खाद्यान्न, निर्माण सामग्रीलगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको छ।
सडक अवरुद्ध भएपछि नेपालगञ्जलगायतका बजारबाट मुगुतर्फ आउने ग्यास तथा अन्य अत्यावश्यक सामग्री बाटोमै रोकिएका छन्। सदरमुकाम गमगढीदेखि ग्रामीण तथा दुर्गम करान भेगसम्म सामान ढुवानी हुन नसक्दा स्थानीयवासी समस्यामा परेका छन्।
यस वर्ष मुगुम कार्मारोङ गाउँपालिकामा चिनियाँ हाटबजारसमेत सञ्चालन नभएको र गमगढीदेखि छायलबगरसम्म विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा समस्या थपिएको हो।
गमगढीका व्यवसायी सन्तोष मल्लले लामो समयदेखि सडक बन्द हुँदा एलपी ग्यासको अभाव बढेको बताउनुभयो। ग्यास नियमित रूपमा आपूर्ति नहुँदा व्यवसाय सञ्चालन गर्नसमेत कठिन भएको उहाँको भनाइ छ।
सडक अवरुद्ध हुँदा सिमेन्ट, छड, जस्तापाता, पाइपलगायत निर्माण सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ। यसका कारण निजी तथा सरकारी निर्माणका काममा समेत असर परेको छ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार झ्यारी क्षेत्रमा लगातारको वर्षाका कारण दलदलसहितको पहिरो बगिरहेकाले सडक खुलाउन समस्या भएको छ। मौसममा सुधार आएपछि सडक सञ्चालनका लागि पहिरो पन्छाउने कामलाई प्राथमिकताका साथ अघि बढाइने कार्यालयले जनाएको छ।
लामो समयसम्म सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभावसँगै बजारमा मूल्यवृद्धि हुन सक्ने चिन्तासमेत स्थानीयमा देखिएको छ। स्थानीयले तत्काल पहिरो पन्छाएर सडक सञ्चालन गर्न तथा झ्यारीलगायत जोखिमयुक्त क्षेत्रमा दीर्घकालीन संरचना निर्माण गर्न माग गरेका छन्।








प्रतिक्रिया राख्नुहोस्