अग्ला लामा झोलुङ्गे पुलले फेरिएको पर्वतको पहिचान
पर्यटनदेखि ग्रामीण अर्थतन्त्रसम्मको सेतु

पर्वत । कालीगण्डकी र मोदी नदीका गहिरा खोँच । एकातिर अग्ला पहाड, अर्कोतिर नदीको वेग । वर्षौँसम्म यही भूगोल पर्वतका ग्रामीण बस्तीका लागि आवतजावतको चुनौती थियो । नदी तर्न घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता थियो भने वर्षायाममा खोला–नदीको बहाव बढ्दा गाउँ र बजारबीचको सम्बन्ध नै टुट्ने अवस्था आउँथ्यो । तर पछिल्लो डेढ दशकमा पर्वतको यही भौगोलिक कठिनाइलाई चिर्दै बनेका अग्ला र लामा झोलुङ्गे पुल अहिले जिल्लाको पहिचान मात्र बनेका छैनन् , ग्रामीण जीवनशैली र अर्थतन्त्र परिवर्तन गर्ने आधारसमेत बनेका छन् ।
पर्वतमा २०६६ सालदेखि निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुलले कालीगण्डकी र मोदी नदीपारिका बस्तीलाई सदरमुकाम कुश्मा बजारसँग जोड्दै आएका छन् । कुश्मा–ज्ञादी, कुश्मा–कैयाँ, मुडीकुवा–बडागाउँ तथा पाङ–रामरेखा,फलेवास–सराङ्गी, कुश्मा खरेहा–ज्ञादी अधिकारीफाँट जोड्ने पुल यसका प्रमुख उदाहरण हुन् ।
यी पुलले दुर्गम बस्तीका नागरिकलाई सहज आवतजावतको सुविधा मात्र दिएका छैनन्, गाउँमा उत्पादन भएका कृषि उपज बजारसम्म ल्याउन सहज भएको छ । विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय तथा बजारसम्म पुग्न लाग्ने समय घटेको छ । त्यससँगै पुलकै कारण ग्रामीण क्षेत्रमा पर्यटनको सम्भावना पनि बढेको छ ।
पुल बनेपछि गाउँ र बजारको दूरी घट्यो
पहिले नदीपारिका बस्तीबाट बजारसम्म पुग्न लामो बाटो घुम्नुपर्ने अवस्था थियो । झोलुङ्गे पुल बनेपछि भने पैदल यात्राको दूरी र समय दुवै घटेको स्थानीयको अनुभव छ । पुल निर्माण भएपछि २ घण्टालाग्ने बाटो अहिले १० मिनेटमा पुगिन्छ । कृषकका लागि यसको प्रभाव अझ महत्वपूर्ण छ । गाउँमा उत्पादन हुने तरकारी, फलफूल, दूधलगायतका कृषि उपज बजारसम्म पुर्याउन सहज भएपछि ग्रामीण उत्पादनले बजार पाउन थालेको छ । पुलले मानिस मात्र होइन, गाउँको उत्पादनलाई पनि बजारसँग जोडेको छ ।
यही कारण स्थानीय बासिन्दा झोलुङ्गे पुललाई केवल नदी वारपार गर्ने संरचनाका रूपमा हेर्दैनन् । उनीहरूका लागि यी पुल गाउँको आर्थिक गतिविधिलाई बजारसँग जोड्ने सेतु बनेका छन् ।

पर्यटकको रोजाइमा अग्ला पुल
पर्वतका अग्ला र लामा झोलुङ्गे पुल पछिल्लो समय पर्यटकका लागि पनि आकर्षणको केन्द्र बनेका छन् । पुलबाट देखिने कालीगण्डकी र मोदी नदीका दृश्य, वरिपरिका पहाड तथा गहिरा खोँचले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
विशेषगरी कुश्मा–ज्ञादी, कुश्मा–कैयाँ र पाङ–रामरेखा क्षेत्रका पुल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । पाङ अदुवाबारी देखि बागलुङको रामरेखासम्म जोडिएको ५६७ मिटर लामो पाङ–रामरेखा झोलुङ्गे पुल २०७७ सालमा सञ्चालनमा आएको हो । यसको निर्माणपछि पर्वत र बागलुङबीचको आवतजावतसँगै पर्यटकीय गतिविधिमा समेत वृद्धि भएको छ । पर्यटकको आगमनले कुश्मा बजारको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको स्थानीयको बुझाइ छ । होटल, रेस्टुरेन्ट, यातायात, खुद्रा व्यापार तथा अन्य सेवा क्षेत्रमा पर्यटकको चहलपहलले नयाँ सम्भावना थपेको छ ।
एक समय सीमित आर्थिक गतिविधिमा निर्भर रहेको कुश्मा बजार अहिले पर्यटनसँग जोडिएका नयाँ सम्भावनाका कारण बिस्तारै चलायमान बन्दै गएको स्थानीय बताउँछन् । झोलुङ्गे पुल पर्वतको पर्यटन चिनारी बन्नुमा यसको महत्वपूर्ण योगदान रहेको उनीहरूको बुझाइ छ ।
चिनारी बनेका पुल, तर संरक्षणमा चुनौती
पुलले पर्वतलाई देश–विदेशसम्म चिनाउन सहयोग गरे पनि यसको संरक्षण भने चुनौतीपूर्ण बन्दै गएको छ । २०६६ सालमा निर्माण भएको कुश्मा–ज्ञादी झोलुङ्गे पुल डेढ दशक पुग्दा जीर्ण बन्दै गएको छ । नियमित मर्मत तथा संरक्षणमा पर्याप्त ध्यान नपुग्दा पुलका लट्ठा, डेक, बार तथा नटबोल्टमा समस्या देखिन थालेका छन् । केही समय मोटरसाइकल सञ्चालनमा रोक लगाइए पनि सामान्य मर्मतपछि पुनः सवारी सञ्चालनमा आएको छ ।
कुश्मा–कैयाँ झोलुङ्गे पुल पनि २०६९ सालमा निर्माण भएको हो । कालीगण्डकी नदीमाथि निर्माण गरिएको यो पुलले पर्वत र बागलुङ क्षेत्रका बासिन्दाको आवतजावत सहज बनाएको छ । त्यस्तै, मोदी खोलामाथि निर्माण गरिएको मुडीकुवा–बडागाउँ झोलुङ्गे पुलले दक्षिण पर्वतका बासिन्दाको यात्रा सहज बनाएको छ । २०७२ सालमा निर्माण भएको ३५० मिटर लामो उक्त पुलको अवस्था पनि पछिल्लो समय कमजोर बन्दै गएको छ । यी पुलमा दुई पाङ्ग्रे सवारी चलाउँदा पुलको आयु घट्दै गएको छ । पुल निर्माण समितिका अध्यक्ष बालकृष्ण तिवारीका अनुसार पुलका लट्ठा लत्रिन थालेका छन् , जाली च्यातिएका छन् भने नटबोल्ट तथा पाता उप्किन थालेका छन्, पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि पर्याप्त सुनुवाइ नभएको उहाँको गुनासो छ ।
दैनिक सयौँ मानिसले प्रयोग गर्ने पुलमा लट्ठा खुकुलो हुनु, जाली च्यातिनु र नटबोल्ट कमजोर बन्दै जानुले यात्रुको सुरक्षामाथि प्रश्न उठाएको छ । पर्यटनको मुख्य आकर्षण बनेका यस्ता संरचना समयमै मर्मत नगर्ने हो भने यसले जिल्लाको पहिचानमै असर पार्न सक्ने स्थानीयको चिन्ता छ ।
स्थानीय तहको बजेटले मात्रै धान्न कठिन
फलेवास नगरपालिका प्रमुख गङ्गाधर तिवारी स्थानीय तहले आफ्नो क्षमताअनुसार पुल मर्मतका लागि बजेट विनियोजन गर्दै आएको बताउनुहुन्छ । तर लामा र ठूला झोलुङ्गे पुलको मर्मतका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले स्थानीय तहको सीमित स्रोतले मात्र धान्न कठिन हुने उहाँको भनाइ छ । “यस्ता संरचनाको संरक्षणका लागि प्रदेश र सङ्घीय सरकारको सहयोग अपरिहार्य छ,” प्रमुख तिवारी भन्नुहुन्छ ।
सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका वरिष्ठ डिभिजन इन्जिनियर प्रेमनारायण बस्यालका अनुसार झोलुङ्गे पुल मर्मतका लागि छुट्टै योजना बनाएर नियमित बजेट विनियोजन गर्ने व्यवस्था छैन । पालिका, वडा वा स्थानीयबाट पुल बिग्रिएको जानकारी आएपछि प्राविधिक टोली पठाएर आवश्यकताका आधारमा अनुगमन गर्ने गरिएको बस्याल बताउनुहुन्छ ।
“पर्वतमा हामीले आवश्यकताका आधारमा पुल मर्मत कार्य गर्दै आएका छौँ,” उहाँ भन्नुहुन्छ ।नयाँ पुल निर्माणभन्दा पुरानो झोलुङ्गे पुल मर्मत गर्नु अझ कठिन हुने बस्यालको भनाइ छ ।

अब झोलुङ्गे होइन, दुई ठूला मोटरेबल पुलको माग
झोलुङ्गे पुलले पर्वतको ग्रामीण भूगोललाई जोड्ने काम गरे पनि अब जिल्लावासीको आवश्यकता थप फराकिलो बन्दै गएको छ । स्थानीयका अनुसार पर्वतमा अब कम्तीमा दुई ठूला मोटरेबल पुल आवश्यक छन् । एउटा पर्वत र बागलुङ जोड्ने तथा अर्को कुश्मा बजारलाई ज्ञादीसँग जोड्ने मोटरेबल पुल निर्माण हुनुपर्ने उनीहरूको माग छ । कुश्मा बजार साँघुरिँदै गएको अवस्थामा कुश्मा–ज्ञादी मोटरेबल पुल निर्माण भए बजारको विस्तारसँगै व्यापारिक तथा आवासीय गतिविधि पनि नदीपारि विस्तार हुन सक्ने स्थानीयको अपेक्षा छ । त्यस्तै, पर्वत–बागलुङ जोड्ने थप मोटरेबल पुलले दुई जिल्लाबीचको व्यापार, कृषि, पर्यटन र यातायातलाई अझ सहज बनाउने उनीहरूको विश्वास छ । यी दुई पुल निर्माण हुन सके पर्वतको ग्रामीण क्षेत्र मात्र होइन, कुश्मा बजारसमेत नयाँ आर्थिक केन्द्रका रूपमा विकास हुन सक्ने सम्भावना देखिन्छ ।
कृषि उत्पादनदेखि पर्यटन, व्यापार र यातायातसम्मका गतिविधिलाई एकैसाथ गति दिन सक्ने पूर्वाधारका रूपमा स्थानीयले यी पुललाई हेरेका छन् । झोलुङ्गे पुलले पर्वतलाई पहाडका खोँचबाट बजारसम्म जोड्यो । अब मोटरेबल पुलले त्यही सम्बन्धलाई अझ फराकिलो आर्थिक सञ्जालमा विस्तार गर्ने अपेक्षा छ । त्यसैले पर्वतका झोलुङ्गे पुल अहिले केवल नदीमाथि टाँगिएका फलामे संरचना होइनन्—यी जिल्लाको इतिहास, भूगोल, पर्यटन र ग्रामीण अर्थतन्त्रलाई जोड्ने जीवित सेतु हुन्, तर यी सेतु सुरक्षित रहे मात्र पर्वतको चिनारी र सम्भावना दिगो बन्न सक्छ । त्यसका लागि निर्माणसँगै नियमित मर्मत, संरक्षण र आगामी पुस्ताका लागि यसको उपयोगिता जोगाउने दीर्घकालीन योजना आवश्यक देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्