तपाईँ सुन्दै हुनुहुन्छः

फलेवासमा एक वर्षमै ४७३ जनाले गरे बसाइँसराइ

पर्वत । पर्वतको फलेवास नगरपालिकाबाट पछिल्लो एक वर्षमा ४ सय ७३ जना नागरिकले बसाइँसराइ गरेका छन् ।  आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाका विभिन्न वडाबाट १ सय ४२ परिवारका ४ सय ७३ जना नागरिकले आफ्नो पुर्ख्यौली थातथलो छाडेर अन्यत्र बसाइँ सरेका हुन् । 

फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंका अनुसार सोही अवधिमा २१ परिवारका ५३ जना नागरिक भने अन्यत्रबाट फलेवास फर्किएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाबाट ५ सय २५ जना बसाइँ सरेर गएका थिए ।

नगरपालिकाका ११ वडामध्ये वडा नं. ११ बाट सबैभन्दा धेरै परिवारले बसाइँसराइ गरेको र वडा नं. ५ खानीगाउँबाट सबैभन्दा कम बसाइँसराइ भएको नगरपालिकाले जनाएको छ । नगरका पञ्जिकाधिकारी ऋषिराम शर्माका अनुसार बसाइँसराइ गरी जाने अधिकांश नागरिक पोखरा, काठमाडौँ, चितवन, बुटवल, बर्दियालगायतका स्थानमा जाने गरेका छन् ।

नगरपालिकाका प्रवक्ता अच्युत तिवारीका अनुसार आसन्न निर्वाचनका कारण मताधिकार आफू बसेकै स्थानबाट प्रयोग गर्न तथा अन्य सेवा–सुविधाका लागि पनि केही नागरिक बाहिरिने गरेका छन्। तर शिक्षा, स्वास्थ्य, यातायात र रोजगारीका अवसरको अभावका कारण फलेवासबाट बसाइँसराइ गर्ने क्रम बढ्दै गएको स्थानीयको भनाइ छ ।

पञ्जिकाधिकारी शर्माका अनुसार फलेवासबाट बसाइँसराइ बढ्नुको प्रमुख कारण स्थानीयस्तरमा रोजगारीका अवसरको कमी हो । २४ हजार ६ सय ७८ जनसङ्ख्या रहेको फलेवासमा पछिल्ला वर्षहरूमा बसाइँसराइको दर निरन्तर बढ्दै गएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । नगरपालिकाका अनुसार स्थानीय तहको दोस्रो कार्यकालको तेस्रो र चौथो वर्षमा बसाइँसराइको दर तुलनात्मक रूपमा बढी देखिएको छ ।

बसाइँसराइ बढेसँगै नगरमा जन्मदरसमेत प्रभावित भएको देखिन्छ । आर्थिक वर्ष २०८२/८३ मा फलेवासमा ६ सय ९४ जनाले जन्मदर्ता गराएका छन् भने २ सय ९३ जनाको मृत्युदर्ता भएको छ । यसैगरी २ सय ८६ जनाले विवाह दर्ता गराएका छन् भने २६ जनाले सम्बन्धविच्छेद दर्ता गराएका छन् । 

वैदेशिक रोजगारीका लागि युवायुवती बाहिरिने क्रम बढ्नुका साथै रोजगारी र अन्य अवसरको खोजीमा गाउँ छाड्नेको संख्या बढ्दै जाँदा ग्रामीण बस्ती क्रमशः रित्तिँदै गएको स्थानीयको चिन्ता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button