तपाईँ सुन्दै हुनुहुन्छः

दुई दशकपछि नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको शालिक पुनःस्थापना

नेपालगञ्ज । नेपालगञ्जमा करिब दुई दशकपछि पूर्वराजा स्वर्गीय वीरेन्द्र शाहको शालिक पुनःस्थापना गरिएको छ। २०६२/६३ को दोस्रो जनआन्दोलनका क्रममा हटाइएको शालिक शुक्रबार राति पुनःस्थापना गरिएको हो।

नेपालगञ्ज उपमहानगरपालिकाले विभिन्न आन्दोलनका क्रममा हटाइएका वा क्षतिग्रस्त भएका ऐतिहासिक व्यक्तित्वका शालिक पुनःस्थापना गर्ने अभियानअन्तर्गत पूर्वराजा वीरेन्द्रको शालिक पुनःस्थापना गरेको जनाएको छ।

उपमहानगरपालिकाका अनुसार यसअघि वीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, सहिद सेतु विक तथा दोस्रो जनआन्दोलनका क्रममा हटाइएको स्वर्गीय राजा त्रिभुवनको शालिक पनि पुनःस्थापना गरिसकिएको छ। नेपालगञ्जका विभिन्न चोकमा रहेका अधिकांश ऐतिहासिक शालिक अहिले पुनःस्थापित भएका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले लामो समयदेखि पुनःस्थापना हुन बाँकी रहेका तथा विभिन्न आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ऐतिहासिक शालिकहरू क्रमशः पुनःस्थापना गरिएको बताउनुभयो।

उहाँका अनुसार इतिहास, संस्कृति र समाजका विभिन्न कालखण्डसँग सम्बन्धित व्यक्तित्वप्रतिको सम्मान व्यक्त गर्दै सार्वजनिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button