तपाईँ सुन्दै हुनुहुन्छः

जनशक्ति अभाव र रेडियशन मेसिन बन्द हुँदा खजुरा क्यान्सर अस्पतालको सेवा प्रभावित

बाँके। पश्चिम नेपालको एकमात्र विशिष्टीकृत क्यान्सर उपचार केन्द्र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराले जनशक्ति अभाव र अत्याधुनिक रेडियशन मेसिन बन्द हुँदा सेवा प्रवाहमा गम्भीर चुनौती सामना गरिरहेको जनाएको छ। यसले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हजारौँ क्यान्सर बिरामी प्रभावित भएका छन्।

अस्पतालले २०७९ सालमा गरेको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणले एक सय शय्याको अस्पताल सञ्चालनका लागि ५६ जना विशेषज्ञ चिकित्सकसहित ४०९ जनाको जनशक्ति आवश्यक पर्ने देखाएको थियो। तर उक्त प्रतिवेदन अझै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत हुन सकेको छैन।

हाल अस्पतालमा १४ जना विशेषज्ञ चिकित्सक मात्रै कार्यरत छन् र सबै करार सेवामा छन्। सरकारले अस्थायी रूपमा १२९ जनाको दरबन्दी स्वीकृत गरे पनि अहिले १०२ जना मात्रै कार्यरत छन्। सेवा सञ्चालनका लागि अस्पतालले थप ४४ जना कर्मचारी ज्यालादारीमा राख्नुपरेको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले आवश्यक जनशक्ति नहुँदा सेवा विस्तार गर्न र सञ्चालनमा रहेका सेवालाई प्रभावकारी बनाउनसमेत कठिन भइरहेको बताउनुभयो।

अस्पतालले वार्षिक करिब ३० हजार बिरामीलाई सेवा दिँदै आएको छ। तर पर्याप्त जनशक्ति नहुँदा धेरै विभाग पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। प्यालिएटिभ केयर, हेमाटो अंकोलोजी, साइकियाट्री तथा काउन्सिलिङ र न्युट्रिशनलगायतका सेवा अझै सुरु हुन सकेका छैनन्।

यसैबीच, करिब २७ करोड रुपैयाँ मूल्यको अत्याधुनिक लिन्याक मेसिन वैशाखदेखि बन्द भएपछि रेडियशन सेवा प्रभावित भएको छ। यसअघि दैनिक २५ देखि ४५ जना बिरामीले रेडियशन सेवा लिने गरेकामा अहिले उनीहरूलाई चितवन, काठमाडौं वा भारतका अस्पतालमा पठाउनुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ।

अस्पताल प्रशासनका अनुसार मेसिन खरिदसम्बन्धी भुक्तानी विवादका कारण ४० प्रतिशत रकम रोकिएपछि आयातकर्ता कम्पनीले मेसिन पुनः सञ्चालनमा चासो नदेखाउँदा सेवा अवरुद्ध भएको हो। कार्यकारी निर्देशक डा. भट्टराईले मन्त्रालयसँग समन्वय गरी मेसिन पुनः सञ्चालनको पहल भइरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button