डल्ले खुर्सानी बिक्रीबाट वार्षिक सात लाख आम्दानी
दोलखा । दोलखाको मेलुङ गाउँपालिका–२ बाँसबोडेकी सम्झना खड्काले गाउँमै कृषि व्यवसाय गरेर मनग्य आम्दानी गरेकी छन् । डल्ले खुर्सानी र यसको बिरुवा बिक्री गरेर उनले वार्षिक सात लाख भन्दा बढी आम्दानी गरेकी छन् ।

‘गत वर्ष मैले डल्ले खुर्सानी बिक्रीबाट झण्डै ६ लाख रुपैयाँ कमाएको थिए । यसको बिरुवा बिक्रीबाट एक लाख ५० हजार कमाई भएको थियो ।’ सम्झनाले भनिन् । यो वर्ष भने खुर्सानी बिक्रीबाट कम आम्दानी हुने देखिएको उनको भनाई छ । तर खुर्सानीको बिरुवा बिक्रीबाट भने यो वर्ष राम्रै आम्दानी गरेको उनले बताइन् ।
मेलुङ गाउँपालिकामा हेफर परियोजना सञ्चालन भएपछि सोही परियोजनाको सहयोगमा सम्झनाले डल्ले खुर्सानी र त्यसको बिरुवाको व्यवसायीक उत्पादन सुरु गरेकी थिइन् ।

पालिकामा हेफर परियोजना सुरु भएपछि त्यसैमा आवद्ध भएर आफु व्यावसायिक रुपमा कृषि पेशामा लागेको र पहिलो पटक हेफर परियोजनाका शान्त भट्टले इलामबाट ल्याएको डल्ले खुर्सानीको बिरुवा रोपेर व्यवसाय सुरु गरेको सम्झनाले बताइन् ।
‘मेहेनत गर्यो भने गाउँमै कृषि व्यवसाय गरेर पनि मासिक एक लाख कमाउन मुश्किल छैन’– सम्झनाले भनिन् । आफूले कृषि व्यवसायमा लागेर पारिवारिक आम्दानीसँगै गाउँका केही युवालाई रोजगारी समेत दिन सकेको उनको भनाई छ ।
उनले अहिले डल्ले खुर्सानी र यसको बिरुवाको बिक्री वितरणसँगै एभोकाडो, कफी, जापनिज कटुस, तेजपत्ता, चाँप लगायतको बिरुवा समेत बिक्री गर्दै आएको बताइन् । झण्डै १४ रोपनी जमिनमा सुरु गरेको यो व्यवसायले वार्षिक १० लाखभन्दा बढी कमाई हुने गरेको सम्झनाको भनाई छ । उनको यो व्यवसाय प्रमोसनको लागि हेफर परियोजनासँगै मेलुङ गाउँपालिकाले समेत राम्रो सहयोग गरेको छ ।
मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर कृषि व्यवसायमा सक्रिय युवा कृषक सम्झना खड्कालाई पालिकाले प्राविधिक सहयोग, बिरुवा तथा अन्य परामर्श दिँदै आएको बताए । यो वर्ष सम्झना खड्का समेत सहभागी सेतीदेवी महिला समूहलाई खुर्सानी सुकाउने मेशिन समेत उपलब्ध गराइएको अध्यक्ष थोकरले बताए ।
मेलुङ गाउँपालिकाले आफ्नो व्यवसायको लागि प्राविधिक सहयोगसँगै बिरुवा र मर्चिङ प्लास्टिक समेत उपलब्ध गराएको सम्झनाले बताइन् । अहिले आफूले उत्पादन गरेको बिरुवाहरू मेलुङ गाउँपालिकाले खरिद गरेर विभिन्न कृषक समूहलाई वितरण गर्दै आएको उनको भनाई छ ।
आफूले उत्पादन गरेका डल्ले खुर्सानी, एभोकाडो, कफी, जापनिज कटुस, तेजपत्ता, चाँप लगायतको बिरुवा दोलखाको गौरीशङ्कर, तामाकोशी र कालिन्चोक गाउँपालिका तथा धादिङ, सिन्धुपाल्चोक र रामेछाप जिल्लाको विभिन्न पालिका र कृषक समूहले खरिद गर्दै आएको सम्झनाले बताइन् ।







प्रतिक्रिया राख्नुहोस्