तपाईँ सुन्दै हुनुहुन्छः

किएभमा रूसी आक्रमण, ३० जनाको मृत्यु

युक्रेन। युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या कम्तिमा ३० जना पुगेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणका कारण आंशिकरूपमा ध्वस्त भएको एउटा अपार्टमेन्टको निरीक्षण गर्ने क्रममा आफ्नो सेनाले “निश्चितरूपमा” यो आक्रमणको बदला लिने बताउनुभएको छ । 

यसैबिच युरोपियन युनियनका शीर्ष कूटनीतिज्ञले मस्कोमाथि नयाँ प्रतिबन्ध प्रस्ताव गरेका छन् भने जेलेन्स्कीले प्याट्रियट एयर-डिफेन्स मिसाइल निर्माण गर्ने इजाजत पत्रका लागि दबाब दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घका प्रमुख महासचिव एन्टोनियो गुटेरेसले विनासकारी रूसीको आक्रमणको निन्दा गर्दै युद्धविरामको आह्वान गर्नुभएको छ । 

नागरिक र नागरिक पूर्वाधारमाथि आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानूनको स्पष्ट उल्लङ्घन भन्दै उहाँले यसलाई तुरुन्त रोक्नुपर्ने बताएको उहाँका प्रवक्ता स्टेफन डुजारिकले उल्लेख गर्नुभएको छ । यद्यपी क्रेमलिनले आफ्नो कुनै सम्झौता नगर्ने दावी गर्दै किएभमाथि “दबाब” बढाउने प्रतिवद्धता गरेको छ । 

सहरको केन्द्रमा रहेका आवासीय क्षेत्रमा रूसी क्षेप्यास्त्र तथा ड्रोनको वर्षापछि विस्फोटको प्रतिध्वनि हुन थालेको जनाइएको छ । मेयर भिटाली क्लिट्स्कोले यसलाई “राजधानीमा रूसको सबैभन्दा ठुलो आक्रमण” भनेर वर्णन गर्नु भएको छ । युक्रेनको राज्य आपतकालीन सेवाले उक्त आक्रमणमा ३० जनाको मृत्यु भएको पुष्टि गरेको छ ।  

सहरको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले ९१ जना घाइते भएको बताउनुभएको छ । रेड क्रसको युक्रेनी शाखाले यसको मुख्य गोदाम नष्ट भएको र करिब २० लाख डलरको मानवीय सहायता गुमेएको बताएको छ । आक्रमणले कूटनीतिज्ञ बस्ने भवनलाई पनि क्षति पुगेको बताउदै ईयूकी प्रवक्ता अनिट्टा हिप्परले कूटनीतिज्ञ भने सुरक्षित रहेको उल्लेख गर्नु भएको छ ।

क्रिवी रिगमा, मिसाइलले प्रहार गर्दा दुई जना घाइते भएको केन्द्रीय सहरको सैन्य प्रशासनका प्रमुखले बताउनुभएको छ । किएभले आफ्ना सहयोगीलाई थप हवाई सुरक्षा पठाउन आग्रह गरेको छ । युक्रेनले अमेरिकामा निर्मित “मिसाइल इन्टरसेप्टर” प्रणालीका लागि हतियार उत्पादन गर्न चाहन्छ, तर रक्षा विज्ञले घरेलुरूपमा उत्पादन स्थापना गर्न समय लाग्ने बताएका छन् ।

युरोपेली सङ्घका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले आक्रमणलाई लिएर मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव गर्ने बताउनुभएको छ । आसन्न रुसी हमलाको गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै जेलेन्स्कीले बुधबार डब्लिनको भ्रमण गरेपछि यो आक्रमण भएको हो । जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले “केही समयदेखि युक्रेनविरुद्ध ठुलो आक्रमणको तयारी गरिरहेको” बताउनुभएको थियो । रासस/एएफपी 

प्रतिक्रिया राख्नुहोस्

Back to top button