मार्तडी–कोल्टी सडक कालोपत्रे अलपत्र: २० करोड बजेट फ्रिज हुने जोखिम, ठेक्का तोड्ने प्रक्रिया सुरु
बाजुरा। बाजुराको ‘जीवनरेखा’ मानिने मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत ढम्कने–कोल्टी खण्डको कालोपत्रे निर्माण कार्य निर्माण कम्पनीको चरम लापरबाहीका कारण पुनः अलपत्र परेको छ।

काम ठप्प हुँदा चालु आर्थिक वर्षको करिब २० करोड रुपैयाँ बजेट फ्रिज हुने (फिर्ता जाने) अवस्था सिर्जना भएको छ।
पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाका अनुसार निर्माण कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि काम नगरेपछि धरौटीबापत ३ करोड ६ लाख रुपैयाँ बैङ्क ग्यारेन्टीबाट असुल गरिएको छ। साथै १२ करोड रुपैयाँ थप असुलीका लागि नेपाल राष्ट्र बैङ्कमा पत्राचार गरिएको छ।
ढम्कने–कोल्टी सडकको २६ किलोमिटर कालोपत्रे गर्ने जिम्मा पीएस बानियाँ निर्माण सेवाले ५० करोड १७ लाख रुपैयाँमा २०७७ असारमा लिएको थियो। तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता भए पनि हालसम्म ५० प्रतिशत मात्रै काम सम्पन्न भएको कार्यालयले जनाएको छ।

निर्माण कम्पनीले यस वर्ष पनि काम सुरु नगरेपछि बजेट फिर्ता हुने अवस्था आएको हो। गत आर्थिक वर्षमा समेत १५ करोड रुपैयाँमध्ये १३ करोड ५० लाखभन्दा बढी बजेट खर्च हुन नसकी फिर्ता गएको थियो। केही महिनाअघि कार्यालयले ठेक्का रद्द गर्ने प्रक्रियाअन्तर्गत १५ दिने सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनीलाई सम्पर्क गर्न आग्रह गरेको थियो। तर तोकिएको समयभित्र कम्पनी सम्पर्कमा नआएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
स्थानीय राम बहादुर विकका अनुसार वर्षायाममा सडक निर्माण अधुरै रहँदा मार्तडी–कोल्टी सडक पटक–पटक अवरुद्ध हुने गरेको छ, जसका कारण स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको छ।मार्तडी–कोल्टी सडकको कुल लम्बाइ ४१ किलोमिटर रहेको छ।








प्रतिक्रिया राख्नुहोस्