तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा जिल्ला पनि बर्ड फ्लुको उच्च जोखिममा 

वीरगञ्ज । पर्सा जिल्ला पनि बर्ड फ्लुको उच्च जोखिममा रहेको भन्दै पशु सेवा विभागले उच्च सतर्कता अपनाएको छ । 

बारामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि छिमेकी जिल्ला पर्सामा समेत संक्रमण नियन्त्रणका लागि संक्रमित कुखुरा, हाँस, बट्टाई लगायत पन्छी तथा तिनका उत्पादनको ओसार–पसार र बिक्री–वितरणमा पूर्ण रोक लगाउन व्यवसायीलाई निर्देशन दिइएको छ ।

विभागले बर्डफ्लु संक्रमित पन्छी वा तिनका उत्पादन बिक्री–वितरण गरेको पाइए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

पशु सेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले बर्डफ्लु मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील रोग भएकाले कुनै पनि लापरवाही नगर्न आग्रह गर्नुभएको छ । उहाँले संक्रमण पुष्टि भएका पन्छी वा तिनका उत्पादन बजारमा पठाउने व्यक्तिलाई कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो ।

गत चैतयता बारा सहित देशका ११ जिल्लामा बर्डफ्लु फैलिएको छ । भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले विभागले प्रभावित क्षेत्रमा निगरानी र नियन्त्रण कार्यलाई थप कडा बनाएको छ ।

बारामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा समेत निगरानी बढाइएको छ । विभागले पशुपन्छी व्यवसायी तथा सर्वसाधारणलाई सतर्क रहन, शङ्कास्पद अवस्था देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन तथा संक्रमित पन्छी वा तिनका उत्पादनको कारोबार नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button