राष्ट्रिय सभा बैठक : विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल जारी
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०८३ का विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोगका साथै गृह, रक्षा, परराष्ट्र, अर्थ, पूर्वाधार विकास, ऊर्जा जलस्रोत तथा सिँचाइ, कृषि वन तथा पर्यावरण र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भएको छ ।

विनियोजन विधेयकका उल्लेखित शीर्षकहरूमाथि आफ्नो धारणा राख्दै नेपाली काँग्रेसकी सांसद दुर्गा गुरुङले राष्ट्रिय गौरवका सिँचाइ आयोजना समयमै सम्पन्न नगर्दा प्रत्येक वर्ष किसानलाई समस्या पर्दै आएको भन्दै सरकारले कृषि उत्पादन बढाउन प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
बैठकमा नेकपा एमालेका प्रेमप्रसाद दंगालले कृषि मन्त्रालयका लागि अत्यन्तै न्यून बजेट छुट्टाइएको भन्दै कृषि यान्त्रिकीकरण कार्यक्रमलाई सरकारले बेवास्ता गरेको बताउनुभयो ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका सांसद उर्मिला अर्यालले नेपाली चियाको गुणस्तर र अन्तर्राष्ट्रिय व्यापारमा बाधा नपर्ने गरी सरकारले गुणस्तर कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले लाखौँ युवाहरूलाई नेपालमै रोजगारी दिने गरी कुनै कार्यक्रम नल्याएको भन्दै सरकारले अझै युवाहरूलाई वैदेशिक रोजगारीमा जान बाध्य बनाएको आरोप लगाउनुभयो ।
आजको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तरगत विनियोजन शीर्षकमाथि सांसदहरु मिना सिंह रखाल र सोमनाथ पोर्तेलले खर्च कटौती प्रस्ताव पेश गर्नुभयो ।
बैठकमा विनियोजन शीर्षकहरूमा सांसदहरुले धारण राख्ने क्रम जारी छ ।







प्रतिक्रिया राख्नुहोस्