तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घको नेतृत्वमा दङ्गाल      

काठमाडौँ। सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घ नेपालको आज सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले काशिनाथ दङ्गाल (सुनसरी) को नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

महासङ्घको उपाध्यक्षहरूमा ज्ञानबहादुर लो.(ललितपुर), राबहादुर टमाटा (हुम्ला), श्यामसुन्दर महतो (सर्लाही), महिला उपाध्यक्षमा सीता स्याङ्तान (सिन्धुली), महासचिवमा वीरेन्द्रराज विष्ट (कञ्चनपुर), सचिवमा समीर खान (मकवानपुर), प्रेमबहादुर थोकर (काभ्रे), महिला सचिवमा कमला पन्थी (रुपन्देही) र कोषाध्यक्षमा उषा सिंखडा (काठमाडौँ) चयन हुनुभएको छ ।

महासङ्घले सामुदायिक विद्यालय सुधार र अभिभावकको भूमिकाबारे दुई दिने राष्ट्रिय सम्मेलनसहित काठमाडौँमा महाधिवेशन आयोजना गरेको हो । नवनिर्वाचित कार्यसमितिलाई संस्थापक अध्यक्ष कृष्ण थापा, निवर्तमान अध्यक्ष गुणराज मुक्तानलगायतले ‘हामी सुधार्छौँ, हाम्रा विद्यालय’ अभियानको निरन्तरतासहित कार्यकाल सफलताको कामना गर्नुभयो ।

सम्मेलनको उद्घाटन सोमबार शिक्षाविद् केदारभक्त माथेमाले गर्नुभएको थियो । सम्मेलनका अवसरमा शिक्षा विज्ञ, सरकारी अधिकारी र स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाबिच तीन तहका सरकार र विद्यालय सुधारमा अभिभावकको भूमिकाबारे विचार विमर्श पनि गरिएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button