तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीका पाँच स्थानीय तहको कुल बजेट ९ अर्ब ७१ करोड, गत वर्षभन्दा करिब १० प्रतिशत कम 

पोखरा । कास्की जिल्लाका पाँच स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ९ अर्ब ७१ करोड ७२ लाख २२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । चार गाउँपालिकाको बजेट बढे पनि पोखरा महानगरपालिकाको बजेट उल्लेख्य रूपमा घटेकाले जिल्लाको समग्र बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १० प्रतिशतले घटेको हो ।

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट प्रस्तुत: गरेको छ । यो चालु आर्थिक वर्ष २०८२/०८३ मा ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको तुलनामा १ अर्ब १९ करोड ८७ लाख रुपैयाँ अर्थात् १४ प्रतिशतले कम बजेट हो ।

यता कास्कीका चार गाउँपालिकाले भने बजेटमा वृद्धि गरेका छन् । रूपा गाउँपालिकाले ५५ करोड ३८ लाख १ हजार रुपैयाँ, मादी गाउँपालिकाले ६५ करोड १२ लाख ५१ हजार रुपैयाँ, अन्नपूर्ण गाउँपालिकाले ६५ करोड ५० लाख रुपैयाँ तथा माछापुच्छ्रे गाउँपालिकाले ७० करोड ४६ लाख ७० हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । चार गाउँपालिकाको कुल बजेट २ अर्ब ५६ करोड ४७ लाख २२ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा यी चार गाउँपालिकाको संयुक्त बजेट करिब २ अर्ब ४४ करोड ५६ लाख रुपैयाँ रहेको थियो। यस आधारमा गाउँपालिकाहरूको बजेट समग्रमा वृद्धि भएको देखिन्छ ।

तर पोखरा महानगरपालिकाको बजेटमा आएको ठूलो कटौतीका कारण कास्कीको समग्र बजेट भने घटेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ मा कास्कीका पाँच स्थानीय तहको संयुक्त बजेट १० अर्ब ७९ करोड ६८ लाख २२ हजार ७ सय ७५ रुपैयाँ रहेको थियो। आगामी आर्थिक वर्षका लागि यो रकम ९ अर्ब ७१ करोड ७२ लाख २२ हजार रुपैयाँमा सीमित भएको छ । यसरी हेर्दा कास्कीको कुल बजेटमा १ अर्ब ७ करोड ९६ लाख रुपैयाँभन्दा बढी कमी आएको छ, जुन करिब १० प्रतिशतको गिरावट भएको अवस्था हो ।

गाउँपालिकाहरूले कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनामा केन्द्रित भएर बजेट बढाएको देखाए पनि पोखरा महानगरपालिकाले खर्च क्षमतासँगै स्रोत व्यवस्थापनलाई ध्यानमा राख्दै तुलनात्मक रूपमा सानो आकारको बजेट ल्याएको देखिन्छ । महानगरको बजेटमा आएको कमीले नै जिल्लाको समग्र बजेट सूचकलाई तल झारेको हो । आर्थिक वर्ष २०८३/०८४ मा कास्कीको कुल बजेटमध्ये करिब ७३ प्रतिशत हिस्सा पोखरा महानगरपालिकाको रहेको छ भने बाँकी २७ प्रतिशत हिस्सा चार गाउँपालिकाले ओगटेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button