तपाईँ सुन्दै हुनुहुन्छः

मकै भित्र्याउने चटारोमा रौतहटका किसान, घट्दो मूल्यले बढायो चिन्ता

रौतहट । रौतहटको उत्तरी भेगका किसान यतिबेला मकै भित्र्याउने चटारोमा छन् । जिल्लाका चन्द्रपुर, वृन्दावन,गुजरा र फतुवा विजयपुर नगरपालिकाका किसान बिहानदेखि बेलुकासम्म खेतमा मकै काट्ने, घोगा भाँच्ने, थ्रेसर लगाउने तथा मकै सुकाउने काममा व्यस्त देखिएका छन् । वृन्दावन नगरपालिका–१ बलरीका किसान पसिन्द्र पटेलले आफ्नो एक बिघा खेतमा लगाएको मकै बाली भित्र्याउन दिनहुँ १० जना मजदुर परिचालन गरेर काम गराइरहेको बताउनुभयो । मौसम बिग्रिन सक्ने चिन्ताले किसानलाई मकै छिटो भित्र्याउन हतार भएको उहाँको भनाइ छ ।

“मकै पूर्ण रुपमा पाकिसकेको छ, फेरि पानी परे क्षति हुन्छ भन्ने डरले चटारोमा काटिरहेका छौँ,” उहाँले भन्नुभयो । फतुवा विजयपुर नगरपालिका–३ का किसान उपेन्द्र यादवले पनि गत साता परेको वर्षाका कारण मकै भित्र्याउन ढिलाइ भएको बताउनुभयो । अहिले खेत सुक्दै गएपछि अधिकांश किसान खेतमै व्यस्त भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार यस वर्ष उत्पादन अपेक्षाभन्दा कम भए पनि मकैको गुणस्तर भने राम्रो रहेको छ । फागुन र चैत महिनामा परेको असिना पानी तथा हुरीले मकैबालीमा क्षति पु¥याउँदा उत्पादन घटेको किसानहरूको गुनासो छ । वृन्दावन–१ का किसान रबिन्द्र पटेलका अनुसार प्राकृतिक विपद्का कारण यसपालि धेरै किसानले अपेक्षित उत्पादन लिन सकेनन् । 

चन्द्रपुर नगरपालिका–९ का किसान कुमार गौतमले विगतका वर्षमा दश कठ्ठा खेतबाट करिब ४० क्विन्टल मकै उत्पादन हुने गरेकोमा यस वर्ष उत्पादन घटेर २९ क्विन्टलमा सीमित भएको बताउनुभयो । उत्पादन घटेका बेला बजार मूल्यसमेत घटेकाले किसान थप चिन्तित बनेका छन् । स्थानीय किसान सुरेश राउतले खेतीपातीका लागि आवश्यक मल, बीउ, इन्धन तथा मजदुरी खर्च निरन्तर बढिरहे पनि मकैको मूल्य भने घट्दै गएको गुनासो गर्नुभयो । 

“इन्धनको मूल्य बढेको भन्दै खेत जोत्नेदेखि ढुवानीसम्म सबै खर्च बढेको छ, तर किसानले उत्पादन गरेको अन्नको मूल्य घट्नु दुःखद कुरा हो,” उहाँले भन्नुभयो । किसानका अनुसार गत वर्ष प्रतिक्विन्टल तीन हजार तीन सय रुपैयाँसम्म बिक्री भएको मकै यस वर्ष दुई हजार छ सयदेखि दुई हजार आठ सय रुपैयाँमै बिक्री भइरहेको छ । बजार मूल्य घट्दा लागतसमेत उठाउन कठिन भएको किसानहरूको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button