‘रन च्यालेन्ज’ शनिबार
काठमाडौँ। एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ ।
शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।
खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । यस्तै, १८ वर्षमुनि महिला/पुरुष र ३५ वर्षमाथि भेट्रान महिलातर्फ तीन किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धामा करिब २५० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतिस्पर्धाका लागि अनुमानित बजेट रु सात लाख ६६ हजार रहेको जनाइएको छ । पाँच किलोमिटर खुलातर्फ महिला तथा पुरुष दौडमा शीर्ष १५ स्थानमा रहने खेलाडीलाई क्रमशः १५ देखि एक अङ्क प्रदान गरिने छ । यो दौड दुई महिनाको अन्तरालमा तीन चरणमा हुनेछ । बाँकी दुई चरणको दौडमा पनि पहिलो चरण सरह नै अङ्क प्रदान गरिने छ । तेस्रो चरणको समाप्तिपछि अन्तिममा ‘ग्रान्ड’ प्रतियोगिता हुनेछ ।
दौड चाँगुनारायण नगरपालिका भवन परिसरबाट सुरु भई भद्रकाली मोड, घट्टाडिल चोक, घट्टे खोला, पगरी टोल, कुशलटार चोक, सुविधानगर सडक हुँदै पुनः नगरपालिका भवनमा पुगेर सम्पन्न हुनेछ । चाँगुनारायण नगरपालिका नगर खेलकुद संयोजक रघु केसीले नगरमा खेलकुद गतिविधिमा उत्साह जगाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्