तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य मन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौँ । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि बेलायती राजदूत रोब फेनले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आयोजित भेटवार्तामा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा बेलायत सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबीचको आपसी सहकार्यले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्य योजनाको मार्गचित्रमार्फत सुशासन, पारदर्शिता र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेको बताउनुभयो । 

मन्त्री मेहताले खोप तथा प्रतिरक्षाका लागि विश्वव्यापी गठबन्धन, एड्स, क्षयरोग तथा मलेरियाविरुद्धको विश्व कोष र प्रति जैविक प्रतिरोधविरुद्धको कार्यक्रमजस्ता बहुपक्षीय कार्यक्रममार्फत प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा बेलायतसँगको साझेदारी अझ सशक्त र जनमुखी हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटका क्रममा राजदूत फेनले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि बेलायत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button