तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामको केही सामुदायिक विद्यालयहरूमा भर्नाका लागि विद्यार्थीको अत्यधिक चाँप

जनकपुरधाम । जनकपुरधामका नाम चलेका सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको आकर्षण निक्कै बढेको छ ।

जनकपुरधामका केही सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षा सहित अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न थालेपछि अहिले नयाँ विद्यार्थी भर्नाका लागि अत्यधिक चाँप बढेर गएको जनाएको हो । नेपाल सरकारले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधारका लागि विभिन्न उपायहरू अवलम्बन गर्न थालेपछि अगामी शैक्षिक सत्रका लागि विद्यार्थीहरूको अत्यधिक चाँप रहेको छ ।

जनकपुरधामको वडा नंं ८ मा रहेको सबैभन्दा पुरानो विद्यालयका रुपमा रहेको याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाका लागि आज प्रवेश परीक्षा सम्पन्न भएको छ । विद्यालयले कक्षा ४ देखि ९ सम्म भर्नाका लागि खुल्ला गरेपछि ८ सय ६१ जनाले प्रवेशका लागि परीक्षा दिएको विद्यालयका प्रधानाध्यापक संजय कुमार झाले जानकारी दिनु भयो ।

गत शैक्षिक शत्रमा २ हजार ७ सय विद्यार्थीहरू पहिला देखि नै अध्ययन गरिरहेको अवस्थामा यस पटक थप भर्नाका लागि ३ सय २१ छात्रा तथा ५ सय ४० छात्राले प्रवेश परीक्षामा सामेल भएको विद्यालयले जनाएको छ । यस पटक केही पूर्वाधार थप भएकाले अधिकतम ३ सय ५० नयाँ विद्यार्थी भर्ना गर्ने अवस्था रहेको विद्यालयका प्रधानाध्यापकले जानकारी दिनु भयो ।

यसै गरि जनकपुरधामको वडा नंं ४ मा रहेको संकट मोचन देवशरणरामरति माध्यमिक विद्यालयले यस वर्ष देखि अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न लागेको जनाएको छ । विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाई हुनेभएपछि विद्यार्थीको चाँप बढेको विद्यालयका प्रधानाध्यापक शम्भु साहले जानकारी दिनु भएको हो ।

यस पटक सो विद्यालयमा प्रत्येक कक्षामा एक एक वटा अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने तयारी भएको विद्यालयका निम्न माध्यमिक तहका शिक्षिका अनिता कुमारी झाले जानकारी दिनु भएको हो । यस अघि नै सो विद्यालयमा नेपाली माध्यममा विद्यार्थीहरूको चाँप राम्रो नै रहेको छ ।

यसै गरि जनकपुरधामको बसहीयामा रहेको सामुदायिक विद्यालयमा नयाँ विद्यार्थीहरूको चाँप अत्यधिक मात्रामा रहेको छ । अहिले सो विद्यालयमा विद्यार्थीहरूको अत्यधिक चाँप रहेको विद्यालयका प्रधानाध्यापक महावीर दासले जानकारी दिनु भएको हो । जनकपुरधामको बभनगम्मामा रहेको कन्टीर माध्यमिक विद्यालय पनि विद्यार्थीको रोजाइमा परेको छ । उक्त विद्यालयहरूमा भर्नाका लागि नयाँ विद्यार्थीको अत्यधिक चाँप रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button