तपाईँ सुन्दै हुनुहुन्छः

खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगञ्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता २०८३ हुने भएको छ । २० वर्ष उमेरसम्मका खेलाडी खेलमा सहभागी हुन पाउने गरी अशोक स्मृति कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । 

दि फेमस महिन्द्र दल गण भूपू र न्यू डाँफे स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा खजुरा डिगाउँस्थित मिनी रङ्गशालामा वैशाख २७ गतेदेखि सञ्चालन गरिने आयोजक दि फेमस महिन्द्र दल गणका भूपू अध्यक्ष कृष्णलाल गिरीले जानकारी दिनुभयो । 

जिल्ला र पालिकामा दर्ता भएका १२ टिमको प्रतियोगितामा सहभागिता रहने न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालराम खत्रीले जानकारी दिनुभयो । नेपाली सेनामा कार्यरत रहेका अशोक बिक फुटबल खेलाडी समेत हुनुहुन्थ्यो । खेलाडी विकको स्मृतिमा हुन लागिरहेको फुटबल प्रतियोगितामा विजेता हुने टिमले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने महिन्द्र दल गण भूपूका कोषाध्यक्ष बलबहादुर खड्काले बताउनुभयो । खेल नकआउट प्रक्रियामा सञ्चालन गरिने शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । 

प्रतियोगिताको प्रथम राशि मुख्य आयोजक महिन्द्र दल गढ भूपुले र दोस्रो पुरस्कार राशि स्वर्गीय अशोकका भाइ तथा न्यु डाँफे स्पोर्ट्स क्लबका पूर्व अध्यक्ष हरिप्रकाश विकले बेहोर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । प्रतियोगितामा विधागत पुरस्कारहरू समेत प्रदान गरिने विकले जानकारी दिनुभयो । 

प्रतियोगितामा अल राउन्ड वेस्ट खेलाडीलाई हिरोको साइकल प्रदान गरिनेछ । यस्तै अन्य विधागत उत्कृष्ट खेलाडीलाई नगद २५०० का दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा हरेक दिनको उत्कृष्ट खेलाडीलाई १ हजार नगदसहित पुरस्कृत गरिने आयोजकले जनाए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button