लागुऔषध नियन्त्रणमा ‘सप्लाइ चेन’ तोड्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि यसको आपूर्ति सञ्जाल (सप्लाइ चेन) जरोसम्म पुगेर तोड्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ।
अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसका अवसरमा आज जारी सन्देशमा गृहमन्त्री गुरुङले लागुऔषध नियन्त्रणको दिवसलाई औपचारिकतामा सीमित नराखी प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको हो।
उहाँले लागुऔषध नियन्त्रणमा प्रहरी प्रशासनसँगै तीनै तहका सरकार, विद्यालय, टोल विकास संस्था, बाल क्लब, युवा क्लब, आमा समूह तथा समुदायको सक्रिय साझेदारी आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
गृहमन्त्री गुरुङले विभिन्न अध्ययनले लागुऔषधको अवैध ओसारपसार बढ्दो देखाएको भन्दै नेपाल सरकारले ‘लागुऔषधको अन्त्यको शुरुआत गर्ने अभियान’ सञ्चालन गर्ने नीति लिएको जानकारी दिनुभयो।
उहाँका अनुसार लागुऔषधको दुरुपयोगले विशेषगरी बालबालिका र युवाको स्वास्थ्य तथा मानसिक विकासमा गम्भीर असर पुर्याइरहेको छ। लागुऔषधको ओसारपसार र दुरुपयोग सामाजिक विकृतिमात्र नभई राष्ट्रिय सुरक्षा, जनस्वास्थ्य र अर्थतन्त्रलाई असर गर्ने सीमा पारको संगठित अपराध भएकाले यसको नियन्त्रणमा कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाइने उहाँले बताउनुभयो।
गृहमन्त्री गुरुङले मन्त्रालयले लागुऔषध रोकथाम, नियन्त्रण तथा दुर्व्यसनीको उपचार र पुनःस्थापनालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै स्वस्थ नागरिक र सुरक्षित समाज निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभएको छ।









प्रतिक्रिया राख्नुहोस्