मेलुङमा महिलाको उद्यमशीलता: आत्मनिर्भरतातर्फ उल्लेखनीय प्रगति
दोलखा। दोलखाको दक्षिण–पूर्वी भेगमा पर्ने मेलुङ गाउँपालिकाका महिलाहरूले पालिकाबाट प्राप्त सहयोगपछि आफूहरू आत्मनिर्भर बन्दै गएको बताउनुभएको छ ।

सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले सञ्चालन गर्दै आएको “स्थलगत बहस” कार्यक्रममा बिहीबार सहभागी हुँदै उहाँहरूले पालिकाको प्रयासले आयआर्जनमा उल्लेखनीय सुधार आएको बताउनुभएको हो।
सेतीदेवी महिला समूहका सचिव तथा कृषि उद्यमी सम्झना खड्काले पालिकाबाट प्राविधिक सहयोग र विषादी पाएपछि अकबरे खुर्सानी खेती विस्तार गर्न सफल भएको बताउनुभयो। उहाँले २ हजार ६ सय बोटबाट ६ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको बताउनुभयो।

यस्तै, गाईखुरा महिला उद्यमी कृषि सहकारी संस्थाका अध्यक्ष शोभा बस्नेतले पालिकाको ५० प्रतिशतसम्मको अनुदानले सामूहिक रूपमा दुग्ध व्यवसाय सञ्चालन गर्न प्रेरणा मिलेको बताउनुभयो। पालिकाले उपलब्ध गराएको ३४ वटा उन्नत जातका गाईका कारण हाल दैनिक करिब ५०० लिटर दूध निर्यात भइरहेको उहाँले बताउनुभयो।

महिला उद्यमी बृहस्पति गोलेले २० रोपनी जग्गामा मुला खेती गर्दै आउनुभएको छ । उहाँले पालिकाको अनुदानकै कारण आफू व्यावसायिक कृषितर्फ लाग्न सकेको बताउनुभयो।
कुखुरा पालक संगीता भण्डारीले दैनिक तीन क्रेटसम्म अण्डा बिक्री गर्दै आएको जानकारी दिँदै यसबाट घरखर्च चलाउन र बालबच्चाको पालनपोषणमा सहज भएको बताउनुभयो। उहाँले महिलाहरूले श्रमदानमार्फत नमुना ट्यांकी निर्माणसमेत गरेको उल्लेख गर्नुभयो।

स्थानीय पत्रकार शिव भुजेलले मेलुङ गाउँपालिकाले कृषि तथा पशुपालनमा विभिन्न दातृ निकायसँग साझेदारी गर्दै स्थानीयको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान दिएको बताउनुभयो। उहाँले दीर्घकालीन भण्डारणका लागि कोल्ड स्टोर आवश्यक रहेको सुझाव दिनुभयो।
कार्यक्रममा सहभागीहरूले कृषि क्षेत्रमा सम्भावना भए पनि बाँदरको समस्या चुनौतीका रूपमा रहेको बताउनुभएको छ । महिनौँको मेहनतले उत्पादन गरेको बाली बाँदरले नष्ट गर्ने समस्या बढ्दै गएको भन्दै उहाँहरूले कृषि बीमा र क्षतिपूर्तिको व्यवस्था गर्न केन्द्र सरकारसँग माग गर्नुभएको छ ।
यसैगरी, मेलुङ गाउँपालिकामा ठूलो सङ्ख्यामा घरधुरी लालपुर्जाविहीन रहेको समस्या पनि उठाइएको छ । वडा नम्बर ४ भेडपुका नवीन गोलेले नापी नहुँदा करिब २५ सय घरधुरी लालपुर्जाविहीन रहेका र जसका कारण स्वास्थ्य चौकी तथा प्रहरी चौकी निर्माणमा समेत समस्या भइरहेको बताउनुभयो।
कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षकहरूले पालिकाले नतिजाका आधारमा शिक्षकलाई पुरस्कार र प्रोत्साहन दिने नीति अवलम्बन गरेको जानकारी दिनुभयो।
बहसमा वडा अध्यक्षहरू कुसुम लामा, रामकृष्ण भण्डारी र ललित थापामगरले आत्मनिर्भरता र स्वरोजगारलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो।
बहसमा उठेका सवालमा बोल्नुहुँदै गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्यले मेलुङमा सुन्तला खेतीबाट मात्रै वार्षिक १३ करोड रुपैयाँभन्दा बढी आम्दानी भइरहेको बताउँदै कृषि र पशुपालनमा महिलाहरूको सक्रियताले आयआर्जनमा सुधार आएको बताउनुभयो।

बहसमा गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले आगामी वर्ष कोल्ड स्टोर सञ्चालन गर्ने, कृषि उत्पादनको ब्रान्डिङ गर्ने तथा पशुखाद्य उत्पादन उद्योग स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो। अध्यक्ष तामाङले यसै वर्ष ७ किलोमिटर सडक कालोपत्रे र बागमती प्रदेश सरकारको ३६ करोड रुपैयाँको बहुवर्षीय योजनाअन्तर्गत मुडे–मेलुङ शीतली सडक निर्माण भइरहेको बताउनुभयो। साथै, एसियाली विकास बैङ्कको सहयोगमा सिम्टे सडक खण्ड स्तरोन्नति हुने उहाँले बताउनुभयो।
पाँच साविक गाविस मिलेर बनेको मेलुङ गाउँपालिका प्राकृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यहाँबाट प्रसिद्ध शैलुङडाँडा पुग्न करिब पाँच घण्टाको पदमार्ग पार गर्नुपर्छ।
“स्थलगत बहस” कार्यक्रम रेडियो नेपालले देशका विभिन्न स्थानमा पुगेर स्थानीय मुद्दा उजागर गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको छ। यो कार्यक्रम शनिबार बिहान १० बजेर १० मिनेटमा र पुनः प्रसारण बिहीबार राति ९ बजेर १५ मिनेटमा प्रसारण हुने गर्दछ।








प्रतिक्रिया राख्नुहोस्