प्रधानमन्त्री शाहद्वारा बुद्ध जयन्तीमा ज्ञान र शान्तिको सन्देश
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बुद्ध जयन्तीको अवसरमा ज्ञान, शान्ति र करुणाको सन्देश दिनुभएको छ।
सिद्धार्थ गौतमका शिक्षालाई उद्धृत गर्नुहुँदै प्रधानमन्त्री शाहले “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ” भन्ने बुद्धको वचन स्मरण गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले बुद्धले देखाएको मार्ग नै दुःख निवारणको बाटो भएको उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री शाहले उज्यालो र अँध्यारोको उदाहरण दिनुहुँदै ज्ञानको प्रकाश फैलिँदा अज्ञानता स्वतः हट्ने बताउनुभएको छ। “हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या समाधानको मार्गमा हुनुपर्छ,” उहाँले बताउनुभयो।
विश्वशान्तिको कामना गर्दै उहाँले बुद्धको जन्मले नेपाल भूमि अहिंसा र शान्तिको पक्षमा रहेको उल्लेख गर्नुभएको छ। साथै, “साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो,” भन्ने सन्देश पनि दिनुभएको छ।
बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शाहले सबैमा प्रज्ञामय शुभकामना व्यक्त गर्नुहुँदै “अप्प दीपो भवः” अर्थात् ‘आफैँ दीपक बन’ भन्ने प्रेरणा दिनुभएको छ।









प्रतिक्रिया राख्नुहोस्