मनोहरामा अनधिकृत घरटहरा हटाउन सुरु
भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने काम सुरु गरिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख तथा प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार काठमाडौं महानगरपालिकाको डोजरसहितको टोली पुगेपछि संरचना हटाउन थालिएको हो ।
आज बिहानैदेखि बस्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उल्लेख्य परिचालन गरिएको छ । बासिन्दालाई आफैं घरटहरा हटाउन बिहान ९ बजेसम्म समय दिइएको थियो । त्यसपछि महानगरपालिकाको टोलीले डोजर प्रयोग गरी हटाउने काम अघि बढाएको हो ।
प्रहरीका अनुसार अधिकांश घरटहराबाट सामान सारिएपछि संरचना हटाउने काम सुरु गरिएको हो । बस्तीमा कुल ७ सय ७७ घरटहरा रहेका छन् ।
हिजो साँझ सात वटा पक्की घर भत्काउँदा स्थानीयले अवरोध गरेका थिए । ढुंगामुढा हुँदा एक दर्जन प्रहरी घाइते भएका थिए भने तीन जनालाई नियन्त्रणमा लिइएको थियो ।
आज भने केही बासिन्दाले स्वेच्छाले सामान सारेका छन् र प्रहरीको सहयोगमा बिना अवरोध हटाउने काम भइरहेको जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्