तपाईँ सुन्दै हुनुहुन्छः

गहुँको छवाली जलाउने क्रम बढ्यो, आगलागीको जोखिम बढी हुने 

वीरगञ्ज । गहुँबाली भित्र्याएपछि खेतमा बाँकी रहेका छवाली तथा ठुट्टा जलाउने क्रम बढेसँगै पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा आगलागीको जोखिम तीव्र रूपमा बढ्न थालेको छ । 

हालसम्म पर्सामा करिब ८० प्रतिशतभन्दा बढी गहुँ बालीको कटानी सम्पन्न भइसकेको छ भने बाँकी २० प्रतिशत बाली भित्र्याउन अझै बाँकी रहेको छ ।

गहुँ भित्र्याइसकेका खेतहरूमा बाँकी रहेका छवाली र ठुट्टा दैनिक रूपमा जलाउने गरिएको छ । दिनहुँ दर्जनौँ बिघा जमिनमा आगो लगाइँदा चर्को घाम र हावा हुरीको कारण सानो आगोसमेत अनियन्त्रित भई फैलिने गरेको छ । यसले नजिकका बस्ती तथा अन्य बालीमा समेत ठूलो क्षति पु¥याउने जोखिम बढाएको छ ।

करिब एक साता अघि पर्सागढी नगरपालिका–५ मा छवाली जलाउने क्रममा भित्र्याउन बाँकी रहेको गहुँ बालीमै आगलागी भएको थियो । उक्त आगो पर्सागढी नगरपालिका र सखुवाप्रसौनी गाउँपालिकाको वारुणयन्त्र प्रयोग गरी नियन्त्रणमा लिइएको थियो ।

हरेक वर्ष यस्तै लापरवाहीका कारण पर्सामा बिघौं जमिनमा लगाइएको गहुँबाली जलेर नष्ट हुने गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति पर्साका विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका सदस्य कृष्णकुमार कुशवाहाले आगलागी नियन्त्रणका लागि पूर्वतयारी तीव्र पारिएको जानकारी दिनुभयो । 

किसानहरूका अनुसार छवाली र ठुट्टा सुकेको अवस्थामा जलाउन सजिलो हुने भएकाले अहिले आगो लगाउने गरिएको हो । पानी परेपछि जलाउन कठिन हुने भएकाले समयमै व्यवस्थापन गर्न खोजिएको उनीहरूको भनाइ छ । साथै, खेतमा बाँकी रहेको भुसले नयाँ बाली, विशेषगरी धान रोपाइँमा असर पार्ने विश्वासका कारण पनि आगो लगाइने गरिएको छ ।

तर विज्ञहरूले गहुँको छवाली सङ्कलन गरी भुस बनाएर पशु आहारका रूपमा प्रयोग गर्न सकिने सुझाव दिएका छन् । यसले आगलागी जोखिम कम गर्नुका साथै पशुपालन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विज्ञहरूको सुझाव छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button