ओली पक्राँउको विरोधमा एमालेद्वारा धनुषामा विरोध प्रदर्शन

जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउको विरोध तथा रिहाइको माग गर्दै नेकपा एमाले धनुषाले आज जनकपुरधाममा प्रदर्शन गरेको छ ।
नेकपा एमालेका पार्टी कार्यालयबाट नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा भएको प्रदर्शनका क्रममा सरकारले राजनीतिक पूर्वाग्रह राख्दै विपक्षी नेतामाथि दमन गरेको आरोप लगाउँदै मोटरसाइकल र्याली सहित विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरूले ‘लोकतन्त्रको रक्षा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘गृहमन्त्री राजीनामा दे’ लगायतका विषयमा नारा लगाउँदै केही बेर प्रशासन कार्यालय अगाडी प्रदर्शन सहित धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलमार्फत प्रधानमन्त्री तथा राष्ट्रपति समक्ष ज्ञापनपत्र पनि प्रदान गरेको छ ।
एमाले धनुषाका अध्यक्ष भोला यादवले वर्तमान सरकारले विधिको शासनभन्दा पनि शक्ति प्रयोगमार्फत राजनीतिक प्रतिशोध साँध्ने काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले पूर्वप्रधानमन्त्री जस्तो सम्मानित व्यक्तित्वलाई लक्षित गरी गरिएको कारबाहीले देशको लोकतान्त्रिक अभ्यासमाथि नै प्रश्न उठाएको दाबी गर्नु भयो ।
ज्ञापनपत्रमा केपी शर्मा ओलीमाथि लगाइएका आरोपहरू राजनीतिक प्रेरित भएको दाबी गरिएको छ । साथै, न्यायिक प्रक्रिया निष्पक्ष र पारदर्शी हुनुपर्ने माग पनि गरेको छ । प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएका थिए । प्रदर्शन शान्तिपूर्ण रूपमा धनुषामा सम्पन्न भएको कुनै प्रकारको अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्