तपाईँ सुन्दै हुनुहुन्छः

चैते झरीले मुगुका कृषक उत्साहित, उत्पादन बढ्ने आशा

मुगु । लामो समयदेखि खडेरीका कारण चिन्तित बनेका मुगुका कृषकहरू पछिल्ला केही दिनयता परेको चैते झरीसँगै उत्साहित भएका छन्। समयमै भएको वर्षाले खेतबारीमा लगाइएका बालीमा हरियाली बढ्न थालेको छ भने उत्पादनमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

छायाँनाथ रारा नगरपालिका–५ का कृषक लाप्से बिकका अनुसार चैते झरीले मकै र गहुँबालीमा ठूलो राहत पुगेको छ। “धेरै दिनदेखि पानी नपरेर चिन्ता थियो, अहिले परेको पानीले बाली सप्रिने आशा बढेको छ,” उहाँले बताउनुभयाे।

त्यस्तै, सोरु गाउँपालिका–८, नोकोटाका कृषक डिलबहादुर बमले समयमै परेको वर्षाले खेत जोत्न र बाली रोप्न सहज भएको बताए। “चैते झरीले माटो भिजाएको छ, खेतीपाती गर्न सजिलो भएको छ,” उनले भने, “पशुचौपायाका लागि बनपाखामा घाँसपात पलाउन थालेको छ, जसले चरिचरणमा पनि सहजता ल्याएको छ।”

कृषि प्राविधिकहरूका अनुसार चैते महिनामा पर्ने वर्षा मकै, गहुँ, जौ, तरकारी तथा अन्य अन्नबालीका लागि विशेष लाभदायक मानिन्छ। “यस्तै वर्षा निरन्तर भइरहेमा उत्पादनमा उल्लेख्य वृद्धि हुन सक्छ,” प्राविधिकहरूले बताउनुभएकाे छ।

मुगु जिल्लामा मकै, गहुँ, जौ, फापर, उवा, केराउलगायत अन्नबाली तथा विभिन्न तरकारी खेती हुँदै आएको छ। हालको चैते झरीले यी बालीको उत्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button