सिन्धुपाल्चोकमा ग्यास र तेलको अभाव, दसैँको मुखमा उपभोक्ता मारमा
सिन्धुपाल्चोक । जसोतसो दाउराको जोहो गरेर चुल्हो बाल्दै दैनिक गर्जो टार्दै आउनुभएकी चौताराकी मैना कपालीलाई दसैँ नजिकिएसँगै चिन्ताले सताउन थालेको छ । खाना पकाउने एलपी ग्यासको अभाव झेल्दै आउनुभएकी उहाँलाई यसपालिको दसैँ पनि दाउराकै भरमा मनाउनुपर्ने हो कि भन्ने पिरलो छ । ग्यास आउने आशामा उहाँ दिनहुँ नजिकैको ग्यास डिलर पुग्नुहुन्छ, ‘ग्यास आयो कि ?’ भनेर सोध्नुहुन्छ, तर हरेक पटक निराश हुँदै रित्तो हात फर्कनु हुन्छ । झन्डै २० दिनदेखि ग्यास अभाव झेल्दै आउनुभएकी श्रेष्ठ अहिले त दाउरासमेत पाउन मुस्किल हुन थालेको बताउनुहुन्छ ।
दसैँको मुखमा खाना पकाउने ग्याससमेत सहज रूपमा नपाएपछि चौताराका समाजसेवी धुवलाल श्रेष्ठ पनि चिन्तित हुनुहुन्छ । ग्यासको अभाव लम्बिँदै गए माटोको चुलो बनाएर झिँजा र परालको जोहो गर्नुपर्ने अवस्था आउन सक्ने उहाँ बताउनुहुन्छ । “आखिर चुल्हो त बाल्नै प¥यो सरकार,” उहाँले व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो । चाडपर्वको समयमा समेत नागरिकले खाना पकाउने आधारभूत इन्धनका लागि भौँतारिनुपर्ने अवस्थाले उहाँलाई चिन्तित बनाएको हो ।
सरकारले पछिल्लो समय एलपी ग्यासको आपूर्ति सहज बन्दै गएको दाबी गरे पनि सिन्धुपाल्चोकको सदरमुकाम चौतारालगायत जिल्लाका अधिकांश स्थानमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । नेपालीको महान् चाड बडादसैँ नजिकिँदै गर्दा बजारमा ग्यासको अभाव कायम रहेपछि सर्वसाधारणको चिन्ता थपिएको छ । चाडपर्वका बेला खाद्यान्न र दैनिक उपभोग्य वस्तुको जोहो गर्नुपर्ने समयमा खाना पकाउने ग्यासकै लागि डिलर धाउनुपर्ने बाध्यताले उपभोक्तालाई थप सास्ती दिएको छ ।
ग्यासको अभाव हुनुमा कम्पनीबाट पर्याप्त आपूर्ति नहुनु मुख्य कारण रहेको व्यवसायी अम्मरबहादुर श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार चौतारा क्षेत्रमा मासिक करिब दुई हजार सिलिन्डर ग्यास उहाँकै पसलबाट मात्र विक्री हुने गरेको छ । तर पछिल्लो समय कम्पनीले तीन सय सिलिन्डरसमेत उपलब्ध नगराउँदा बजारमा अभाव चुलिएको उहाँको भनाइ छ । कम्पनीले नयाँ डिलर थपेपछि पुराना डिलरलाई पर्याप्त ग्यास उपलब्ध नगराइएको आरोप पनि उहाँले लगाउनुभएको छ । नयाँ डिलरमार्फत सिलिन्डर बिक्री गर्दा बढी मुनाफा लिन सकिने भएकाले पुराना डिलरलाई उपेक्षा गरिएको उहाँको दाबी छ । यद्यपि, आपूर्ति घट्नुको वास्तविक कारण र वितरण प्रणालीको अवस्था सम्बन्धित निकायबाट स्पष्ट हुन आवश्यक देखिन्छ ।
खाना पकाउने एलपी ग्यासको अभावसँगै जिल्ला सदरमुकाम चौतारा र आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थको समस्या पनि उत्तिकै गम्भीर बनेको छ । चौतारा, मेल्चौरस्थित एक मात्र पेट्रोल पम्प, बनदेवी फ्युल सेन्टर, विभिन्न कारणले बन्द भएपछि सवारीधनी र चालकहरू इन्धनको जोहो गर्न सास्ती खेप्न बाध्य भएका हुन् । पेट्रोलियम पदार्थ भर्नकै लागि उनीहरू कि त ग्यालिन बोकेर झन्डै ३५ किलोमिटर टाढा सुकुटेस्थित पेट्रोल पम्प पुग्नुपर्छ, कि त महँगो मूल्यमा अनौपचारिक, खुला रूपमा बिक्री भइरहेको इन्धन किन्नुपर्ने अवस्था छ ।
स्थानीय क्षेत्रमा पेट्रोल पम्प सञ्चालन नहुँदा दैनिक आवतजावत गर्ने सर्वसाधारणदेखि सार्वजनिक तथा निजी सवारीसाधनका चालकसम्म प्रभावित भएका छन् । यातायात सञ्चालनमा प्रत्यक्ष असर पर्नुका साथै समय र खर्चसमेत बढेको छ । आवश्यक परेको समयमा नजिकै इन्धन भर्ने व्यवस्था नहुँदा बिरामी बोक्ने सवारीसाधन, सार्वजनिक यातायात तथा अन्य अत्यावश्यक सेवासमेत प्रभावित हुन सक्ने जोखिम छ ।
मेल्चौरस्थित बनदेवी फ्युल सेन्टरका सञ्चालक श्यामकृष्ण श्रेष्ठका अनुसार विविध कारणले हाल उक्त पेट्रोल पम्प सञ्चालनमा ल्याउन सकिने अवस्था छैन । नयाँ पेट्रोल पम्प स्थापना गर्न आवश्यक कार्यविधि तथा मापदण्ड पूरा गर्नुपर्ने भएकाले तत्काल अर्को पम्प सञ्चालनमा आउने सम्भावना पनि न्यून रहेको उहाँ बताउनुहुन्छ । यसले चौतारा र आसपासका बासिन्दाले अझै लामो समयसम्म इन्धनको समस्या झेल्नुपर्ने हो कि भन्ने चिन्ता बढाएको छ ।
दसैँजस्तो महत्वपूर्ण चाडको मुखमा खाना पकाउने ग्यासका लागि उपभोक्ता डिलर धाउनुपर्ने र एक लिटर पेट्रोलका लागि समेत दर्जनौँ किलोमिटर टाढा पुग्नुपर्ने अवस्था सामान्य आपूर्ति समस्या मात्र होइन, नागरिकको दैनिक जीवनसँग जोडिएको गम्भीर विषय पनि हो । एकातिर सरकारले आपूर्ति सहज भएको दाबी गर्ने, अर्कातिर उपभोक्ता बजारमा ग्यास र तेल खोज्दै भौँतारिनुपर्ने अवस्थाले सरकारी दाबी र जनताको वास्तविक भोगाइबिचको दूरी उजागर गरेको छ । त्यसैले सम्बन्धित सरकारी निकायले ग्यास आपूर्तिमा देखिएको अवरोधको तत्काल छानबिन गरी पर्याप्त परिमाणमा ग्यास उपलब्ध गराउने, वितरण प्रणाली पारदर्शी बनाउने तथा कृत्रिम अभाव र कालोबजारी हुन नदिने व्यवस्था गर्न आवश्यक छ । त्यस्तै, चौतारामा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि बन्द पेट्रोल पम्प सञ्चालनको सम्भावना खोज्ने वा नयाँ पम्प स्थापनाको प्रक्रिया सहजीकरण गर्ने विषयमा पनि तत्काल पहल हुनुपर्ने स्थानीयहरू बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्