तपाईँ सुन्दै हुनुहुन्छः

कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाइने बताउनुभएको छ । 

चितवन उद्योग सङ्घको ३५औँ वार्षिक साधारण सभामा मन्त्री गौतमले अस्पष्ट कानुनका कारण प्रशासनिक झन्झट बेहोर्नुपरेकाले समयसापेक्ष संशोधन गरिने बताउनुभयो । 

उद्योगी व्यवसायीहरूले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भन्नुभयो, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गर्न लागिपरेका छौँ ।” देशमा कसरी लगानीमैत्री वातावरण बनाउने भन्ने सन्दर्भमा आफूहरूले निरन्तर प्रयासरत रहेको उहाँले प्रष्ट पार्नुभयो । 

त्यसका लागि आवश्यक पर्ने पूर्व तयारीहरू सरकारले गरिरहेको मन्त्री गौतमले बताउनुभयो । हालै मात्र लगानीमैत्री कानुनहरूमा के के सुधार गर्नुपर्छ ? भनेर बृहत् कार्यशाला गरिसकिएको उहाँले जानकारी दिनुभयो । लगानीमैत्री कानुन निर्माणका लागि नीति निर्माता, कर्मचारी तन्त्र, निजी क्षेत्र, राजनीतिक क्षेत्र सबै एकै ठाउँमा हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कानुन निर्माण गर्ने विषय रातारात नहुने भन्दै मन्त्री गौतमले भन्नुभयो, “अहिलेसम्म तपाईँहरूले भोग्नुभएको समस्या वर्षौंदेखि जेलिँदै आएका समस्या हुन् । सुधारमुखी कुराहरू देखिनका लागि कानुनको संशोधन गर्नुपर्‍यो । संशोधनको चरणमा बल्ल हामी पुगेका छौँ ।”

बिना तयारी कानुन संशोधन भयो भने त्यसको मूल्य नेपाली जनताले तिर्नुपर्ने भन्दै उहाँले थप्नुभयो, “थोरै ढिला भएर केही हुँदैन । दीर्घकालीन रूपमा समस्या समाधान हुने गरी पूर्वतयारी गरेर छलफल र संवाद गरिरहेका छौँ ।” ‘फाष्टट्रयाक’बाट कानुन निर्माण गर्न पनि छदेखि आठ महिना लाग्ने भन्दै उहाँले अब कानुन निर्माणको चरणमा पुगेको बताउनुभयो । 

कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रदेश सरकार लागि परेको बताउनुभयो । 

सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष शोभा गुरुङले भोटेकोशी बाढीमा प्रभावित भएका उद्योग पुनःस्थापनाका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति मिनिमाधव खनाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)चितवनका अध्यक्ष कमल पाठक, नेपाल उद्योग परिसङ्घका कार्यवाहक अध्यक्ष भिम घिमिरे, चितवन उद्योग सङ्घका गभर्निङ काउन्सिलिङ अध्यक्ष राजु पौडेल, उद्योग सङ्घ चितवनका अध्यक्ष मदन घिमिरेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button