‘स्वास्थ्य गतिविधि’ उत्पादन तथा प्रसारण गर्ने सम्बन्धी सम्झौता सम्पन्न
काठमाडौँ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबिच स्वास्थ्य गतिविधि रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्बन्धी सम्झौता भएको छ ।

रेडियो नेपालको केन्द्रिय कार्यालय सिंहदरबारमा आज राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबिच स्वास्थ्य शिक्षा तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले ३३ शृङ्खलाको रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्झौता भएको हो ।
कार्यक्रम प्रसारण सम्झौताको अवसरमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलियाले आम नागरिकमा स्वास्थ्य साक्षरता अभिवृद्धि गर्ने साझा लक्ष्य पुरा गर्न रेडियो नेपालसँगको सहकार्य विगत लामो समयदेखि कायम रहेको बताउनुभयो । निर्देशक डा.थपलियाले स्वास्थ्य सम्बन्धी प्रसारण हुने कार्यक्रमहरू समयानुकूल, प्रभावकारी र नतिजामुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले रेडियो नेपाल र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबिच स्वास्थ्य जस्तो महत्वपूर्ण विषयमा कार्यक्रम प्रसारण सम्झौता भएको भन्दै कार्यक्रमलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो ।

यस्तै रेडियो नेपाल कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्तीले विगत लामो समयदेखि नागरिकको स्वास्थ्य हितका लागि कार्यक्रम प्रसारण हुँदै आएको अवस्थामा कार्यक्रमप्रति श्रोतामार्फत सकारात्मक प्रतिक्रिया प्राप्त भएको भन्दै आगामी दिनमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न टेवा पुग्ने गरी कार्यक्रम प्रसारण गर्न रेडियो नेपाल तयार रहेको बताउनुभयो ।
सम्झौता अनुसार कार्यक्रम हरेक मङ्गलवार साँझ ६ः२५ देखि ६ः४० बजेसम्म प्रसारण हुनेछ भने रेडियो नेपालका सातै प्रदेश प्रसारणका साथै विभिन्न भाषामा स्वास्थ्य सूचना सन्देश समेत प्रसारण हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्