तपाईँ सुन्दै हुनुहुन्छः

‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ डा पोखरेललाई प्रदान

काठमाडौँ । वर्ष २०८२ को ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ समालोचक प्रा.डा.माधवप्रसाद पोखरेललाई आज प्रदान गरिएको छ ।

निबन्ध, समालोचना, अनुसन्धान, भाषा विज्ञान, आदि विधामा योगदान दिनुभएका डा पोखरेललाई वाम बुद्धिजीवी एवं समालोचक भट्टको स्मृतिमा स्थापित सो सम्मान र पुरस्कार प्रदान गरिएको हो । रु ५० हजार राशिको सो पुरस्कार वरिष्ठ समालोचक एवं साहित्यकार डा अभि सुवेदीले डा पोखरेललाई प्रदान गर्नुभयो ।

वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा अक्षयकोष स्थापना गरी दिन थालिएको सो पुरस्कार ‘साहित्य सन्ध्या’ का अध्यक्ष राम विनयको अध्यक्षतामा भएको बैठकले पुरस्कार दिने निर्णय गरेको थियो । 

पुरस्कार चयनका लागि प्रा डा जीवेन्द्रदेव गिरीको संयोजकत्वमा गोपालकुमार मैनाली, जयन्ती सत्याल ‘स्पन्दन’ सम्मिलित समिति गठन गरिएको थियो । कार्यक्रममा भट्टको बहुआयामित व्यक्तित्वबारे समालोचक प्रा डा हेमनाथ पौड्यालले प्रकाश पार्नुभएको थियो ।

यसअघि वर्ष २०८१ को सो पुरस्कारबाट समालोचक प्रा डा वासुदेव त्रिपाठी सम्मानित भइसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button