अव्यवस्थित रूपमा व्यवसाय सञ्चालन हुँदा चन्द्रनिगाहपुर बजार क्षेत्र अस्तव्यस्त बन्दै

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रनिगाहपुर बजार क्षेत्रमा सडक तथा सर्भिस लेन अतिक्रमण गरेर अव्यवस्थित रूपमा व्यवसाय सञ्चालन हुँदा बजार क्षेत्र अस्तव्यस्त बन्दै गएको छ।
सडक किनार, फुटपाथ तथा नालामाथि समेत अस्थायी पसल र ठेला राखिँदा यातायात व्यवस्थापनमा समस्या देखिनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्दै गएको स्थानीयले बताउँछन् ।
स्थानीय निराजन श्रेष्ठले सडक अतिक्रमण गरेर व्यवसाय सञ्चालन भइरहे पनि यस विषयमा स्थानीय सरकारको ध्यान नपुगेको बताउनुभयो । चन्द्रपुर नगरपालिकाको बजार अनुगमन तथा निरीक्षणको जिम्मेवारी नगर उपप्रमुख, उपभोक्ता हित संरक्षण मञ्च तथा स्थानीय प्रशासनको भए पनि प्रभावकारी कदम नचालिँदा समस्या बढ्दै गएको उहाँले बताउनुभयो ।
स्थानीयका अनुसार फुटपाथदेखि राजमार्गसम्म कब्जा जमाएर केही व्यवसायीले ठेला तथा अस्थायी पसल सञ्चालन गर्दै आएका छन् । कतिपय व्यवसायीले नगरका कर्मचारीसँग आर्थिक चलखेल गरी निर्बाध रूपमा व्यापार गरिरहेको आरोप समेत स्थानीयले लगाएका छन् । त्यस्तै घरधनीहरूले आफ्नो घर अगाडि ठेला राख्न दिने नाममा प्रतिठेला मासिक तीन हजारदेखि छ हजार रुपियाँसम्म लिने गरेको स्थानीय बताउँछन् ।
चन्द्रपुर नगरपालिकाका पूर्व कानुनी सल्लाहकार बिपीन गौतमले बजार व्यवस्थापनका लागि नगर परिषद्मा निर्देशिका प्रस्ताव गरे पनि त्यसलाई पारित गर्न जनप्रतिनिधिले चासो नदिएको बताउनुभयो । “निर्देशिका पारित गराउन मेयर र उपमेयरले ध्यान नदिँदा समस्या जटिल बन्दै गएको हो,” उहाँले बताउनुभयो, “जनप्रतिनिधि जनताको सरोकारभन्दा पनि दलगत स्वार्थमा केन्द्रित भएका कारण यस्तो अवस्था आएको हो ।”
बजार क्षेत्रका सटर व्यवसायीले सर्भिस लेन कब्जा गरेर राखिएका अव्यवस्थित पसल हटाउन पटक–पटक माग गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । पूर्व–पश्चिम राजमार्ग आसपास राखिएका पसलका कारण चन्द्रनिगाहपुर बजार क्षेत्र अव्यवस्थित बन्दै गएको र ट्राफिक व्यवस्थापनमा समेत बाधा पुगेको ट्राफिक प्रहरीले जनाएको छ ।
रौतहट ट्राफिक प्रहरी प्रमुख राजेन्द्र थापाले सडक, फुटपाथ र सर्भिस लेनमा राखिएका पसल तथा भीडभाडका कारण बजार क्षेत्रमा यातायात व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनुभयो । उहाँका अनुसार सर्भिस लेनमा सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ ।
यसैबीच, सडक अतिक्रमण गरेर सञ्चालन भइरहेका पसलका कारण सटर भाडा तिरेर र स्थानीय सरकारलाई कर बुझाएर व्यवसाय गर्दै आएका व्यवसायी समेत प्रभावित बनेका छन्। स्थानीय नारायण कार्कीले अव्यवस्थित बजारका कारण सटर व्यवसायीको व्यापार समेत घट्दै गएको बताउनुभयो ।
“चन्द्रनिगाहपुरको बजार व्यवस्थित र सुन्दर हुनुपर्छ भन्ने हाम्रो माग हो,” कार्कीले भन्नुभयो, “सम्बन्धित निकायले कहिलेकाहीँ झारो टार्ने काम मात्र गर्छ। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सडक क्षेत्र खाली गराइएको छैन ।”
स्थानीयले बजार क्षेत्र व्यवस्थित बनाउन सडक तथा सर्भिस लेन अतिक्रमण हटाएर स्थायी व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्