तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा शुक्रबार बिहानबाट मतगणना हुने

धनकुटा। धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहानबाट मात्र सुरु हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामका शुक्रबार बिहानबाट मात्रै मतगणना हुने भएको हो । एक मात्रै निर्वाचन क्षेत्र रहेका धनकुटा जिल्लाभरको मतपेटिका राति १२ बजेसम्म संकलन गरिसक्ने जनाइएको छ। ‘राति १२ बजेसम्ममा मतपेटिका संकलन गरिसक्ने गरी हामीले तयारी गरेका छौँ,’ उहाँले  भन्नुभयो, ‘मतपेटिका संकलनपश्चात सर्वदलीय सहमतिपछि हामी मतगणना प्रक्रिया अगाडि बढाउने छौँ ।’ उनले नजिक क्षेत्रका मतपेटिका आइपुगेको र टाढाको मतपेटिका आउन मध्यरातसम्म लाग्ने देखिएको बताए । सबै मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मत गणना थाल्ने समयको टुङ्गो लगाइने छ । सम्भवतः शुक्रबार बिहानसम्ममा मतगणना थालिने मुख्य निर्वाचन अधिकृत इङनामले जानकारी दिनुभयो ।

‘हामी मतगणनाको तयारी अवस्थामा नै छौँ तर, मतपेटिका आइसकेको छैन ।’ उनले  भने, ‘मतपेटिका आइसकेपछि मात्रै सर्वदलीय बैठक बोलाउने हो तर, दिनभरको खटाइ भएकाले रातिको समय भएकाले दलका प्रतिनिधि आउने सम्भावना कम रहेको छ ।’

धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको सामुदायिक भवनमा मतगणना गर्न तारजालीसहित ठाउँ बनाइएको छ ।

मतदानमा धनकुटामा ५४ दशमलब ४५ प्रतिशत मात्र मत खसेको छ । १ लाख १८ हजार ४ सय २५ मतदाता रहेको जिल्लामा ६४ हजार ४ सय ९० जनाले मतदान गरेका हुन् । मतदाता नामावलीमा नाम दर्ता रहेका धनकुटाका मताधिकार प्राप्त ५३ हजार ९ सय ३५ जना मतदाता मतदानमै सहभागी भएनन् ।

धनकुटामा ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला मतदाता रहेकोमा ३२ हजार १ सय ५६ पुरुष र ३२ हजार ३ सय ३४ महिला मात्रै मतदानमा सहभागी भएका हुन् । जिल्लामा मतदानका लागि १ सय १९ मतदानस्थल र १ सय ६६ मतदान केन्द्र तोकिएको थियो । ती सबै केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण ढंगले मतदान भएको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button