पर्सामा ६५ प्रतिशत मतदान

वीरगञ्ज । आज सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशतभन्दा बढी मत खसेको अनुमान गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले उत्साहजनक रुपमा शान्तिपूर्ण वातावरणमा पर्सामा मतदान सम्पन्न भएको र ६५ प्रतिशत भन्दाबढि मत खसेको जनाएको छ ।
पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले हाल जिल्लाका सम्पुर्ण मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको र मतपेटिका सिलबन्दीको काम भइरहेको विवरण सङ्कलन कार्य अझै जारी रहेको जानकारी दिनुभयो ।
उहाँले एकिन तथ्याङ्क आउन केही समय लाग्ने समेत बताउनुभयो । अहिले मतदान सम्पन्न भएका पर्साको क्षेत्र नम्बर १ र २ का बीरगंज क्षेत्रका मतदानस्थलहरुबाट मतपेटिका सिलबन्दी गरी मतगणना स्थल ठाकुरराम बहुमुखी क्याम्पस परिसरमा ल्याउने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत रेग्मीले बताउनुभयो ।
पर्सा जिल्लामा ४ निर्वाचन क्षेत्रमा ३ लाख ७६ हजार ५ सय ३१ मतदाता रहेका छन् । आज बिहान ७ बजेदेखि सुचारु भएको मतदान साँझ ५ बजे पछि सम्पन्न भएको थियो । मतदानको क्रममा पर्सामा मतदाताले उत्साहजनक सहभागिता देखाएका थिए । सुरक्षाका लागि पर्याप्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरी खटाइएको थियो । यसले मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित बनाउन मद्दत गरेको छ ।
पर्सा जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएपछि मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले सम्पुर्ण मतदाता, उम्मेदवार, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीलाई धन्यवाद दिँदै अव मतगणना शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने दायित्व सबैको काँधमा आएको बताउनुभयो ।
पर्सामा रहेका सम्पुर्ण मतदान केन्द्रहरूमा नेपाली सेना सहितको उच्च सुरक्षा सतर्कता र कडा सुरक्षा व्यवस्था रहेको कारण मतदाताहरू निर्भीकताका साथ मतदानमा सहभागी भएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्