निर्वाचनले देशमा लोकतन्त्रको पुनर्स्थापना गर्छ: अध्यक्ष ओली

भक्तपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असाधारण अवस्थामा भएको निर्वाचनले देशलाई साधारण अवस्थामा परिणत गर्ने विश्वास ब्यक्त गर्नुभएको छ ।
आज भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै अध्यक्ष ओलीले निर्वाचनको काँधमा असाधारण दायित्व रहेको बताउनुभयो ।
निर्वाचनका बेला अनावश्यक हल्ला र मतदातालाई दिग्भ्रमित पार्ने दुष्प्रयास भइरहेको बताउँदै उहाँले कुनै योगदान नभएका स्वार्थी तत्त्वहरूले घृणा र प्रतिशोधको राजनीति गरेर देशलाई अन्योलमा पार्न खोजेको उल्लेख गर्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले देशभर निर्वाचन शान्तिपूर्ण रूपले हुने र छिटफुट घटना भएका भए पनि शान्तिमा परिणत गरेर सुचारु हुनुपर्ने बताउनुभयो ।
उहाँले ओखलढुङ्गा र केही जिल्लाका केही मतदान केन्द्रमा समस्या आएको जानकारी पाएको बताउँदै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । सबैतिर शान्तिपूर्ण र धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।
निर्वाचनपछि देशमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने ,जनतालाई बिना भयका साथ पेशा व्यवसाय र क्रियाकलाप गर्ने वातावरण बनाउनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।
निर्वाचनले देशमा लोकतन्त्रको पुनर्स्थापना गर्ने विश्वास ब्यक्त गर्दै उहाँले अराजनीतिक हिंसात्मक गतिविधि र प्रवृत्तिलाई नियन्त्रण र अन्त्य गर्नुपर्ने दिशामा महत्त्वपूर्ण योगदान गर्ने बताउनुभयो ।
उहाँले निर्वाचन मार्फत नेपाली जनताले शान्ति,सुशासनको पक्षमा भएका लोकतन्त्र र प्रगतिवादी शक्तिलाई अत्यधिक मतले विजयी गराउने विश्वास ब्यक्त गर्नुभयो ।
जनतालाई अलमल्याएर कुनै योगदान नभएका तत्त्वहरूले भ्रममा पारेर र घृणा फैलाएर प्रतिशोधको राजनीति गरेर देशमा अन्योलको भुमरीका बीचबाट लाभ लिएर अगि बढ्ने स्वार्थी तत्त्व हाबी हुन खोजेको ओलीको भनाई थियो ।
उहाँले निर्वाचनपछि एमाले प्रमुख पार्टी बन्ने र एमालेको सरकार बन्ने दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले एमालेले स्पष्ट बहुमत ल्याउने र यदि कथम् कदाचित बहुमत नआए पनि सबैभन्दा ठूलो दल बन्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्