रुपन्देहीमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
रुपन्देही । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । गएरातिदेखि मौन अवधि सुरु भएसँगै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालयहरूले मतदानस्थल, मतदान केन्द्र र मतगणनास्थलमा आवश्यक व्यवस्थापन तीव्र रूपमा अघि बढाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, भैरहवाका अनुसार मतदानका लागि आवश्यक मतपत्रसहित करिब पाँच दर्जनभन्दा बढी सामग्री मतदान अधिकृतहरूलाई बुझाई, रुजु गरी सम्बन्धित केन्द्रतर्फ पठाउने कार्य भइरहेको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीहरू आ–आफ्नो केन्द्रमा पुगिसक्नुभएको छ ।
रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले अधिकांश मतदानस्थलमा आवश्यक सामग्री पुगिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार भौगोलिक दूरी र सुरक्षाको दृष्टिले संवेदनशील मानिएका केही स्थानमा मतपत्र पठाउने तयारी भइरहेको छ । मतदानस्थलमा पुगेका अधिकृतहरूले सूचना टाँस गर्ने, सर्वदलीय बैठक बसाल्ने तथा मतदान प्रक्रिया व्यवस्थित गर्ने तयारी गरिरहनुभएको उहाँले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर ७ सय ३६ जना मतदान अधिकृत तथा सोही सङ्ख्यामा सहायक मतदान अधिकृत खटिनुभएको छ । त्यस्तै, मतदानस्थल तथा केन्द्रहरूमा गरी ४ हजार ४ सय ४ जना कर्मचारी परिचालन गरिएको छ भने २ हजार २ सय ३ जना स्वयंसेवक कर्मचारी पनि खटाइएको छ ।
जिल्लामा २ सय १३ मतदानस्थलमा ७ सय ३६ मतदान केन्द्र कायम गरिएको छ । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता रहेका छन् ।
यसैबीच, पाँचै निर्वाचन क्षेत्रमा मतगणनाका लागि गणना स्थल तथा आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने, तारजाली लगाउने लगायतका सुरक्षात्मक व्यवस्था पनि अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मङ्गलवार सर्वदलीय बैठकको आयोजना गरेर जिल्ला निर्वाचन कार्यालयले यसबारे अन्तिम जानकारी पनि दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्