१५ दिने मिथिला परिक्रमा सम्पन्न
जनकपुरधाम । पन्ध्र दिने मिथिला परिक्रमा आजको अन्तरगृह परिक्रमासँगै सम्पन्न भएको छ ।
१५ दिनसम्म परिक्रमामा सहभागी रहेका तीर्थयात्री सहित मिथिला परिक्रमामा सहभागी नभएका तीर्थयात्रीहरूले अन्तरगृह परिक्रमामा सहभागी भएर आ–आफ्नो घरतर्फ प्रस्थान गरेका छन् ।

आजको पञ्चकोशी अन्तरगृह परिक्रमामा लाखौँ व्यक्ति सहभागी भएका थिए । १५ दिने मिथिला परिक्रमामा सहभागी नभएकाले अन्तरगृह परिक्रमामा सहभागी भएको खण्डमा समान फल प्राप्त हुने जनविश्वास रहेको कारणले धेरैको सहभागिता रहने गरेको छ ।
जनकपुरधामको पञ्चकोशी अन्तरगृह परिक्रमा सकिएकाे भोलीपल्ट तराई मधेशमा होली खेल्ने चलन अनुसार मधेश प्रदेशका जिल्लाहरूमा भोली होली खेल्ने कार्यक्रम रहेको छ ।
गत फागुन ४ गते धनुषाको मिथिला विहारी नगरपालिकाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट मिथिला विहारी तथा जनकपुरधामको अग्निकुण्डवाट किशोरी जीको डोला निस्केर जनकपुरधामको वडा नंं १२ हनुमानगढीमा विश्राम गरेर फागुन ५ गते भारतको विहारको कल्याणेश्वर स्थानका लागि प्रस्थान गरेर परिक्रमाको शुरुआत भएका थिए ।
मिथिलाका महाकुम्भ मानिएको मिथिला मध्यमा परिक्रमाका तीर्थयात्रीहरू भारतको कल्याणेश्वर, गिरीजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही भारतको करुणा, विसौल भएर कल्याणेश्वर स्थान भई आज जनकपुरधाम आएर रात्रि विश्रामपछि आज बिहान ३ बजेबाट अन्तरगृह परिक्रमामा सहभागी भएका थिए ।
१५ दिन लगाएर परिक्रमामा सहभागीहरूले नेपालका १०७ किलोमिटर तथा भारतका २६ किलोमिटर गरेर कूल १ सय ३३ किलोमिटरको दूरी खाली खुट्टा भजन कीर्तन सहित तय गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्