तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा निर्वाचन तयारी अन्तिम चरणमा

बाँके। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा तयारी अन्तिम चरणमा पुगेको छ। जिल्लाभरका १३९ मतदान स्थलअन्तर्गत ४०३ मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी परिचालन भइसकेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगंजका मुख्य निर्वाचन अधिकृत दीपक कुमार दाहालका अनुसार सामग्री बुझेर खटिएका कर्मचारी आ–आफ्नो मतदान केन्द्रमा सुरक्षित रूपमा पुगिसकेका छन्। केन्द्रमा पुगेपछि आवश्यक प्रशासनिक काम सोमबार बेलुकासम्म सम्पन्न गर्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो।

मतदान केन्द्रको चारकिल्ला तोक्ने, परिधि निर्धारण गर्ने तथा निषेधित क्षेत्रसम्बन्धी सूचना टाँस्ने कार्य तीव्र गतिमा भइरहेको छ। सुरक्षाकर्मीको उपस्थितिमा मतदान अधिकृतहरूले मतपत्रसहितका सिलबन्दी सामग्री बुझिरहेका छन्।

मतदान अवधिभर कर्मचारी र सुरक्षाकर्मी सँगै रहने व्यवस्था गरिएको छ। मतपत्र तथा संवेदनशील सामग्रीको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी लाई दिइएको छ। २४सै घण्टा निगरानी राख्न निर्देशन दिइएको कार्यालयले जनाएको छ।

कार्यविधिअनुसार प्रत्येक वडामा कम्तीमा एक मतदान केन्द्र तोकिएको छ। एउटा केन्द्रमा बढीमा एक हजार मतदाता रहने प्रावधान छ। मतदाता संख्या बढी भएको स्थानमा क, ख, ग गरी छुट्टाछुट्टै केन्द्र राखिए पनि एउटै स्थलमा सातभन्दा बढी केन्द्र नराखिने व्यवस्था गरिएको छ।

निर्वाचन कार्यालय, बाँकेका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार मतदान केन्द्रमा पुगेपछि सर्वपक्षीय बैठक आह्वान, प्रचारप्रसार निषेधको सूचना जारी तथा आवश्यक मुचुल्का तयारी गरिनेछ।

नेपालगंज–९ स्थित बाल मन्दिर मतदान केन्द्र र डुडुवा गाउँपालिकाका केन्द्रहरूमा पनि कर्मचारी र सुरक्षाकर्मी पुगेर आवश्यक व्यवस्थापन कार्य पूरा गरिसकेको कार्यालयले जनाएको छ। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यका साथ सुरक्षा र व्यवस्थापन सुदृढ बनाइएको बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button