सल्यानका मतदान स्थलको अनुगमन : भौगोलिक विकटता प्रमुख चुनौती

सल्यान । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सल्यानमा कुल १ सय १७ मतदान स्थल र २ सय ५ मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ४३ वटा मतदानस्थल ‘अति संवेदनशील’ सूचीमा परेका छन् ।
सम्भावित सुरक्षा चुनौती र जोखिमलाई मध्यनजर गर्दै ती क्षेत्रहरूमा विशेष निगरानी र अनुगमन गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचन आउन अब पाँच दिन मात्र बाँकी रहँदा सल्यानमा चुनावी सरगर्मी बढ्दो छ । उम्मेदवारहरू आफ्नो एजेन्डा र प्रतिबद्धता बोकेर मतदाताको घरदैलोमा पुगिरहेका छन्। । गाउँ–बस्तीमा चुनावी बहस, छलफल र भेटघाट तीव्र बनेको छ ।
यता जिल्ला सुरक्षा समितिले पनि मतदान केन्द्रहरूको स्थलगत अनुगमनलाई प्राथमिकतामा राखेको छ । मतदातालाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने सुनिश्चितता दिन निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला सुरक्षा समितिले संयुक्त रूपमा संवेदनशील तथा अति संवेदनशील मतदान स्थलको निरीक्षण गरी सम्भावित जोखिमको विश्लेषण गरेको जनाएको छ ।
मतदाताहरू पनि उत्साहित देखिएका छन् । सल्यानको भौगोलिक विकटता निर्वाचन व्यवस्थापनका लागि चुनौतीपूर्ण बनेको छ । भौगोलिक अवस्था, पहुँच मार्ग, सञ्चार सुविधा, सुरक्षा चुनौती र विगतका अनुभवलाई आधार मानेर मतदान स्थल वर्गीकरण गरिएको हो ।
कतिपय दुर्गम मतदान स्थलका मतपेटिका सदरमुकामसम्म ल्याउनै कठिन हुने देखिएको छ भने केही स्थानका मतपेटिका सुरक्षित रूपमा सङ्कलन गर्न अर्को जिल्ला हुँदै ल्याउनुपर्ने बाध्यता रहेको छ । अनुगमनपछि संवेदनशीलताको स्तरअनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ ।
अति संवेदनशील र संवेदनशील मतदान स्थलमा अतिरिक्त सुरक्षा व्यवस्था, नियमित गस्ती तथा आउजाउको समय व्यवस्थापन समेत गरिएको छ । सल्यानका १ सय १७ मतदान स्थलमध्ये १७ वटा मात्र सामान्य श्रेणीमा परेका छन् । बाँकी अधिकांश स्थल संवेदनशील र अति संवेदनशील सूचीमा रहेकाले सुरक्षा निकाय उच्च सतर्कतामा छन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन सुरक्षामा खटिने अस्थायी प्रहरी परिचालनको तयारी पूरा भएको छ । सामान्य मतदान स्थलमा कम्तीमा तीन जना, संवेदनशीलमा पाँच जना र अति संवेदनशील स्थलमा कम्तीमा सात जनासम्म सुरक्षाकर्मी परिचालन गरिने योजना बनाइएको छ ।
जिल्लामा कुल १ लाख ६२ हजार ४ सय ४ मतदाता रहेका छन् । तीमध्ये ८३ हजार ३ सय २१ पुरुष र ७ हजार १ सय २८ महिला मतदाता रहेका छन् ।
प्रतिनिधिसभा सदस्य पदका लागि सल्यानमा १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।








प्रतिक्रिया राख्नुहोस्