तपाईँ सुन्दै हुनुहुन्छः

गृह मन्त्रालयमा दैनिक निर्वाचनसम्बन्धी सुरक्षा समीक्षा

काठमाडौँ । गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभाको निर्वाचन (फागुन २१ गते)लाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउन दैनिक निर्वाचन सुरक्षासम्बन्धी समीक्षा गरिरहेको छ ।

केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा भइहरेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनसँग सम्बन्धित दैनिक गतिविधिको समीक्षा र रणनीति तथा जनशक्ति परिचालनका साथै जिल्ला समन्वयको कामलाई प्रभावकारी बनाइएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय सुरक्षा परिषद्, गृहमन्त्रीको अध्यक्षमा रहेको केन्द्रीय सुरक्षा समिति, प्रदेश प्रमुख सचिवको अध्यक्षतामा रहने प्रदेश सुरक्षा कमाण्ड पोष्ट, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिमा चार वटै सुरक्षा निकायका प्रमुख रहने गरी बनेको संयन्त्रले प्रत्येक दिन स्थानीयदेखि केन्द्रसम्मको वस्तुस्थिति, सूचना, निर्वाचनसम्बन्धी गतिविधिलाई सूक्ष्म विश्लेषणसहित नियमन गरिरहेको छ ।

सुरक्षालाई चुस्त राख्न हरेक दिन गृहमन्त्री र सुरक्षाको टिम निरन्तर सक्रिय रहेको छ । निर्वाचन सुरक्षा रणनीतिअन्तर्गत निर्वाचन अघि निर्वाचनको अवधिमा र निर्वाचनपश्चात् मतपत्रको ढुवानी, परिणाम घोषणासम्मका कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अन्तर्गत रही कार्य गरिरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण तवरले सम्पन्न गर्न निर्वाचन सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ । 

बैठकमा मन्त्री अर्यालले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सबै सुरक्षा निकायले आपसी समन्वय गरी त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्नेगरी कार्य गर्न निर्देशन दिनुभयो । बैठकमा चार वटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button