तपाईँ सुन्दै हुनुहुन्छः

वरिष्ठ लोकगायक कमल विके निर्मोहीको निधन

बाँके । लामो समयदेखि दुवै मिर्गौलाको समस्याबाट पीडित वरिष्ठ लोकगायक तथा कलाकार कमल विके निर्मोहीको निधन भएको छ। दुवै मिर्गौला फेल भएपछि नियमित डायलासिस गराइरहनुभएका निर्मोहीको उपचारका क्रममा ज्यान गएको परिवारले जनाएको छ।

दाङ जिल्लाको तत्कालीन फूलबारी गाविसमा जन्मिनुभएका निर्मोही पछिल्लो समय नेपालगन्जमा बसोबास गर्दै आउनुभएको थियो। लोकसङ्गीत क्षेत्रमा लामो समयदेखि सक्रिय उहाँले थुप्रै लोकगीतमार्फत दर्शक–श्रोताको मन जित्न सफल हुनुभएको थियो। मौलिक भाकामा आधारित गीत–सङ्गीतमार्फत समाजका विविध विषयलाई उठान गर्ने उहाँको शैली विशेष रूपमा प्रशंसित थियो।

परिवारका अनुसार गत शनिबार एक्कासि बेहोस भएपछि निर्मोहीलाई उपचारका लागि भेरी अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। उपचारका क्रममा स्वास्थ्य अवस्था सुधार नदेखिएपछि सोमबार उहाँलाई भेन्टिलेटरमा राखेर सघन उपचार थालिएको थियो। तर, चिकित्सकहरूको प्रयासका बाबजुद मङ्गलवार साँझ करिब ५ बजे उहाँको निधन भएको हो।

अस्पतालबाट मङ्गलवार नै निवासमा ल्याइएका निर्मोहीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न आफन्त, कलाकार तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। उहाँको निधनले नेपाली लोकसंगीत क्षेत्रलाई अपूरणीय क्षति पुगेको कला क्षेत्रका व्यक्तिहरूले बताएका छन्।

यसअघि मिर्गौला रोगकै कारण उहाँकी पत्नी हेरमदेवी विकको गत माघ २३ गते निधन भएको थियो। छोटो समयमै दुवै दम्पतीलाई गुमाउनुपर्दा परिवार शोकमा डुबेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button