बाजुरामा निर्वाचनको तयारी अन्तिम चरणमा
बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा तयारी अन्तिम चरणमा पुगेको छ।

जिल्ला निर्वाचन कार्यालयले गरेको निर्वाचन तथा आमसञ्चार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा निर्वाचन सम्बन्धी अधिकांश प्राविधिक र व्यवस्थापकीय काम सम्पन्न भइसकेको जानकारी दिएको हो।
जिल्ला निर्वाचन अधिकारी भीमबहादुर शाहीका अनुसार कर्मचारीलाई तालिम दिने र मतपत्रसहित निर्वाचन सामग्री हस्तान्तरण गर्ने बाहेक सबै कार्य सम्पन्न भएको छ। हाल मतपत्र तथा अन्य सामग्री प्याकिङ गर्ने काम तीव्र रूपमा भइरहेको जनाइएको छ। कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउनु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्नुहुँदै शान्तिपूर्ण निर्वाचनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा समानुपातिकतर्फ ९७ हजार र पहिलो हुने निर्वाचित प्रणालीतर्फ ९४ हजार मतपत्रसहित आवश्यक सामग्री आइपुगेको छ। यस पटक मतपेटिका भने पुरानै प्रयोग गरिने जनाइएको छ।
निर्वाचनका लागि जिल्लाभर ७ सय ९ जना कर्मचारी खटाइने भएको छ।एक सय १८ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक अधिकृतसहित बढीमा ६ जनासम्म कर्मचारी परिचालन गरिनेछ भने एक अस्थायी मतदान केन्द्रमा चार जना कर्मचारी खटाइने तयारी छ। कर्मचारीहरूलाई फागुन १४, १५ र १६ गते तालिम दिई सम्बन्धित केन्द्रमा पठाइने तयारी गरिएको छ।
साथै निर्वाचनलाई लक्षित गर्दै जिल्लाका ७७ मतदानस्थलमा तीन वटै सुरक्षा निकायको संयुक्त गस्ती सुरु गरिएको छ। प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरी शान्तिपूर्ण वातावरण सुनिश्चित गरिनेछ। जिल्लाका ७७ मतदानस्थलमध्ये ६२ अति संवेदनशील, १२ संवेदनशील र ३ सामान्य रूपमा वर्गीकरण गरिएको छ। कुल मतदानस्थलमध्ये ८०.५१ प्रतिशत अति संवेदनशील सूचीमा परेका छन्। निर्वाचन सुरक्षाका लागि ४ सयभन्दा बढी नेपाल प्रहरी, करिब २ सय सशस्त्र प्रहरी, ३ सयभन्दा बढी नेपाली सेना तथा १ हजार ६० जना निर्वाचन प्रहरी परिचालन गरिने जनाइएको छ।







प्रतिक्रिया राख्नुहोस्