तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा निर्वाचन: बैतडीमा २ हजार ६ सय सुरक्षाकर्मी परिचालन

बैतडी। फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा २ हजार ६ सय सुरक्षाकर्मी खटाइने भएको छ ।

सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी खटाइन लागेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो । निर्वाचन सुरक्षाको लागि सबै तहका सुरक्षाकर्मी तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । 

जिल्ला सुरक्षा समितिका अनुसार १ सय २९ मतदानस्थलमध्ये ३३ अति संवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । यस्तै २ सय १४ मतदान केन्द्र कायम गरिएका छन् ।

निर्वाचनकै लागि १ हजार ४ सय ४२ कर्मचारी खटाइने भएको छ । कर्मचारी परिचालनका लागि जिल्लास्थित सरकारी कार्यालयबाट विवरण सङ्कलन गरिसकेको निर्वाचन कार्यालय बैतडीका निर्वाचन अधिकृत खगेन्द्र भारतीले बताउनुभयो । केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको खटनपटनको कार्य अगाडि बढाइने उहाँले बताउनुभयो । 

बैतडीमा ११ जनाको उम्मेदवारी रहेको छ । जिल्लामा १ लाख ५६ हजार ३ सय ७२ मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button