तपाईँ सुन्दै हुनुहुन्छः

दाङ-२ निर्वाचन: चार प्रमुख दलबीच कडा प्रतिस्पर्धा

'उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त'

दाङ। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दाङ क्षेत्र न-२ मा चुनावी माहोल तातिँदै गएको छ। 

दाङ क्षेत्र न-२ मा विभिन्न दल र स्वतन्त्र गरी कुल २३ जना उम्मेदवार छन्, तर  मुख्य प्रतिस्पर्धा प्रमुख दलका चार उम्मेदवारहरूबिच हुने देखिएको छ।

दलहरू अहिले घोषणापत्र सार्वजनिक नगरी नै मतदाताको घर–घरमा पुगेर आफ्नो पक्षमा माहोल बनाउन सक्रिय देखिएका छन्।

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका महासचिव शङ्कर पोखरेल यस पटक गुमेको राजनीतिक साख पुनः फर्काउने दाउमा हुनु हुन्छ । 

विगतका निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेपछि उहाँ अहिले सङ्गठन सुदृढीकरण र जनतासँग प्रत्यक्ष संवादलाई मुख्य रणनीति बनाउँदै घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ। “जनताले एमालेको नेतृत्व चाहेका छन्, विकास र स्थिरताका लागि फेरि अवसर दिनुहुनेछ,” उहाँको दाबी छ । साथै पोखरेलले आफूले गरेका विकासका कामहरू के के गरे के गर्न बाँकी जस्ता योजना  सुनाउँदै मतदाताहरू लाई आफू तिर आकर्षण गर्दै घरदैलोमा पुग्नु भएको छ ।

यता, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्य भने पहिलेको राजनीतिक साख जोगाउने चुनौतीमा हुनुहुन्छ। पार्टीभित्रको आन्तरिक अवस्थाले केही असहजता सिर्जना गरे पनि उहाँ आफ्नो व्यक्तिगत छवि र जनतासँगको सम्बन्धका आधारमा चुनाव जित्ने विश्वास व्यक्त गर्दै हुनुहुन्छ। आचार्यले जनताको दैनिक समस्या समाधानलाई मुख्य एजेन्डा बनाएको बताउनुभएको छ।  

त्यस्तै नेपाली काँग्रेसका नेता किरणकिशोर घिमिरे भने यस निर्वाचनलाई काँग्रेसको पुरानो विरासत पूर्ण रूपमा फर्काउने अवसरका रूपमा लिइरहनुभएको छ। लामो समयदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय घिमिरेले विकास, रोजगारी र सुशासनलाई मुख्य एजेन्डा बनाउँदै मतदाताको विश्वास जित्ने प्रयास गरिरहनुभएको छ। “काँग्रेसप्रति जनताको भरोसा अझै बलियो छ, त्यो मतमा रूपान्तरण हुन्छ,” उहाँको भनाइ छ। घिमिरे सफल व्यवसायी, समाजसेवीसँगै काङ्ग्रेस राजनीतिमा पनि केन्द्रीय स्तरमा दखल राख्ने नेताका रूपमा चिनिनुहुन्छ । 

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिन आचार्य  नयाँ रेकर्ड कायम गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिनुभएको छ नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै घिमिरेले पुराना दलहरूप्रतिको असन्तुष्टिलाई मतमा बदल्ने रणनीति बनाउनुभएको छ। पारदर्शिता, सुशासन र नयाँ शैलीको राजनीति नै आफ्नो मुख्य एजेन्डा रहेको उहाँले बताउनुभएको छ।

हालसम्म कुनै पनि दलले औपचारिक घोषणापत्र सार्वजनिक नगरे पनि सबै उम्मेदवारहरू आफूले गरेका कामको प्रचार गर्दै मतदातालाई आकर्षित गर्न प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेका छन्। टोल–टोलमा चुनावी सभा, भेटघाट र छलफल बाक्लिँदै गएका छन्।

दाङ क्षेत्र न-२ मा विभिन्न दल र स्वतन्त्र गरी उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएको भए पनि मतदाताहरूले अहिले चार दलबीचको यो रोचक प्रतिस्पर्धाले निर्वाचनलाई थप रोमाञ्चक बनाएको बताउँछन्। 

मतदाताहरू भने उम्मेदवारका विगतका काम, प्रतिबद्धता र व्यवहारका आधारमा निर्णय गर्ने तयारीमा देखिन्छन्।

फागुन २१ को निर्वाचनले कसको पक्षमा नतिजा ल्याउँछ भन्ने कुरा मतपेटिकाबाट मात्रै तय हुनेछ, तर दाङको राजनीतिक तापक्रम भने दिनप्रतिदिन बढ्दै गएको छ।

दाङ निर्वाचन क्षेत्र २ मा १ लाख ४०हजार ९सय ५६ जना मतदाता छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button