तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमान बेपत्ता भएको १९ वर्षपछि कास्कीमा तीन सन्तानले पाए आमाको नामबाट नागरिकता

पोखरा । श्रीमान विगत १९ वर्षदेखि सम्पर्कविहीन भएका कास्कीकी एक महिलाका तीन सन्तानले आमाको नाममा नागरिकता प्राप्त गर्नुभएकाे छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले दाङसिङकी ३८ वर्षीया निरुता नेपालीका दुई छोरा र एक छोरीलाई नागरिकता प्रदान गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार, वडाध्यक्ष र प्रहरी कार्यालयमार्फत आवश्यक कागजात पेश गरेपछि नागरिकता प्रदान गरिएको हो।

नागरिकता पाउनेमा २९ वर्षीय सुजन नेपाली, २६ वर्षीय दिनेश नेपाली र २१ वर्षीया सुस्मिता नेपाली हुनुहुन्छ।

निरुताका अनुसार उहाँले २०५३ सालमा १४ वर्षको उमेरमा खोटाङका विक्रम राईसँग विवाह गर्नुभएकाे थियाे। विवाहको एक वर्षमै जेठो छोराको जन्म भयो। तर सुस्मिता डेढ वर्षकी हुँदा नै श्रीमान सम्पर्कविहीन हनुभयाे। त्यसयता निरुताले एक्लै चार सन्तान हुर्काउनुभयाे।

आर्थिक अभावका कारण छोराछोरीलाई चाहेजस्तो शिक्षा दिन नसके पनि निरुताले भविष्यका लागि उहाँहरुलाई विदेश पठाउने इच्छा राख्नुभएकाे थियाे । त्यसका लागि नागरिकता अत्यावश्यक भएकोले उहाँले प्रयास सुरु गर्नुभएकाे थियाे।

दुई महिनाको अथक प्रयासपछि नागरिकता पाउँदा निरुताले खुशी व्यक्त गर्नुभयाे। “अब मेरा छोराछोरीले आफ्नो भविष्यका लागि केही गर्न सक्ने बाटो खुलेको छ,” उहाँले भन्नुभयाे । नागरिकता नहुँदा बैंक खाता खोल्न, काम गर्न र पासपोर्ट बनाउँन समेत समस्या हुने गरेको उहाँले बताउनुभयाे।

निरुताका छोराछोरीले आमाको पालनपोषणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ। जेठी छोरी अन्जना नेपाली हाल भारतमा आफन्तसंग बस्दै बसिरहनुभइरहेकाे छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button