ठोरीमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ मनाउन आन्तरिक एवं बाह्य पर्यटकहरूको घुइँचो
बीरगंज । मधेश प्रदेशकै पर्यटनको केन्द्रको रुपमा रहेको पर्साको सुदूरपश्चिम ठोरीमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ मनाउन आन्तरिक एवं बाह्य पर्यटकहरूको घुइँचो लागेको छ ।
आज बिहीबार नयाँ बर्ष मनाउनका लागि भारतको पटना, बेतिया, समस्तीपुर, मुजफ्फरपुर, मोतीहारी, नरकटियागंज आसपासका क्षेत्रका वासिन्दा ठोरी घुम्न र वनभोजका लागि आएको ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

ठोरी घुम्न आउने भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएपछि ठोरीलाई थप व्यवस्थित बनाइएको श्रेष्ठले बताउनुभयो । ठोरीमा चितवन, बारा, पर्सा, रौतहटलगायतका जिल्लाका वासिन्दा समेत हिजै देखि पिकनिक मनाउन पुगेका छन् । हरियाली पहाडले घेरिएको ठोरी तराईको आकर्षक पर्यटकीय गन्तव्य बनेको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
ठोरीको राईधारा, सेतो पहाड, रातो पहाड, सिनेही पहाड, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर लगायतका पर्यटकीय क्षेत्रमा पर्यटकको भीड लाग्ने गरेको छ । नयाँ बर्ष मात्रै नभई हाल अन्य दिनमा समेत ठोरीमा दैनिक पाँच सयदेखि एक हजारको सङ्ख्यामा भारतीय पर्यटक आउने गरेको स्थानीय होटल व्यवसायी दिनेश नेपालले बताउनुभयो ।

ठोरीमा पर्यटकहरूलाई लोभ्याउन दर्जनौँ होमस्टे देखि रिसोर्ट सम्म सञ्चालनमा आएका छन् । ठोरी जङ्गल रिसोर्ट, ठोरी फनपार्क रिसोर्ट, वीरगन्ज रिसोर्ट, होटल गाउँबेसी त्यहाँका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने प्रमुख होटल तथा रिसोर्ट हुन् ।
गाडी र मोटरसाइकलमा ठोरी पुगेका पर्यटक त्यहाँको प्राकृतिक सुन्दरतामा रमाउनुको साथै पारिवारिक वातावरणमा वनभोज पिकनिक खाएर रमाइलो गरी फर्कने गर्दछन् । हरियाली पहाडले घेरिएको उपत्यका ठोरी तराईको आकर्षक पर्यटकीय गन्तव्य हो ।
आज बिहानै देखि वीरगञ्ज ठोरी हुलाकी सडकखण्ड अन्तर्गत पर्ने चमरीहोलदेखि चौतारासम्मको पर्यटकीय क्षेत्रमा सवारी साधनको चाप देखिएको ठोरीका स्थानीय रामप्रकाश कुँवरले बताउनुभयो ।

यता प्रदेश सरकारले मधेस प्रदेशकै पहिलो पर्यटकीय क्षेत्रको रुपमा ठोरीलाई घोषणा गरेको भएपनि पर्यटकीय क्षेत्रको बिकास र सम्बद्र्धनकालागि हाल सम्म कुनै काम नगरेको गुनासो गर्दै गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले ठोरी गाउँपालिकाले आफ्नो क्षमताले भ्याएसम्म पर्यटकीय क्षेत्रको बिकास र संरक्षणकालागि काम गरिरहेको बताउनुभयो । प्राकृतिक मनोरम स्थलसँगै स्थानीयको जागरूकताको कारण ठोरीमा पर्यटकहरूको आकर्षण बढ्दै गएको समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्