तपाईँ सुन्दै हुनुहुन्छः

शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर वृद्धि चुनौतीपूर्ण भए पनि अनिवार्य रहेको बताउनुभएको छ। वानेश्वर बहुमुखी क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्नुपर्नेमा जोड दिनुभयो।

प्रचण्डले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै त्यसका लागि सामुदायिक शिक्षाको गुणस्तर वृद्धिमा आफूले साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जेन्जी आन्दोलनपछिको वर्तमान अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको धारणा राख्नुभयो।

देश संकटमा परेकाले सबै मिलेर निकास दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा रहेको बताउनुभयो।

संयोजक प्रचण्डले हालै देखिएको ‘जेन्जी आन्दोलन’ ले युवापुस्ताको सक्रिय सहभागितामार्फत देशको शासन प्रणाली र समग्र परिस्थितिप्रति नयाँ पुस्ता सचेत र जिम्मेवार रहेको स्पष्ट पारेको बताउनुभयो।
“नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैन भन्ने भ्रम थियो, तर जेन्जी आन्दोलनले त्यो गलत सावित गरिदिएको छ,” उहाँले भन्नुभयो, “नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढंगले आन्दोलित हुन चाहेको देखिएको छ।”

सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकोमा युवाहरूलाई धन्यवाद दिँदै उहाँले अब देशलाई शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। युवालाई आग्रह गर्दै उहाँले भन्नुभयो,
“अब शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button