तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज नाकाबाट १ सय २८ किशोरीको उद्धार

वीरगञ्ज । माइती नेपाल वीरगंजले देशको प्रमुख नाकाको रूपमा रहेको वीरगंज रक्सौल नाकाबाट दलालहरूले विभिन्न प्रलोभनमा भारततर्फ लैजान लागेका १ सय २८ जना महिला तथा किशोरीलाई उद्धार गरेको छ । 

मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा कार्यरत संस्था माइती नेपालले सन् २०२५ मा सीमाबाट १ सय २८ महिला तथा बालबालिकाको उद्धार गरेको हो ।

माइती नेपाल वीरगन्ज आवधिक गृहले वीरगन्जमा आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा शाखाकी प्रमुख पर्यवेक्षक गोमा पौडेलले वार्षिक तथ्याङ्क प्रस्तुत गर्दै यस अवधिमा भारतको दिल्ली, मुम्बईका कोठीबाट २५ जना महिला तथा किशोरीलाई उद्धार गरिएको २ सय ८१ जना असुरक्षित किशोरी तथा महिलालाई सुरक्षित आवास तथा सेल्टर उपलब्ध गराइएको र  १ सय २४ जनालाई नेपाल प्रहरी तथा अन्य निकायले विभिन्न समस्यामा रहेकालाई संरक्षणको जिम्मा लगाएकालाई आरक्षण दिइएको बताउनुभयो । 

एक वर्षको अवधिमा गृहले २ सय ७५ महिला तथा बालबालिकालाई पारिवारिक पुनर्मिलन गराएको तथा ३३ जना महिला तथा किशोरीलाई नेपाल–भारत सीमाबाट सिधै परिवारसँग सम्पर्क गरी घर फिर्ता पठाइएको पौडेलले बताउनुभयो । 

यस वर्ष नेपालबाट भारततर्फ जानेहरूमा अधिकांश भारतका विभिन्न सहरमा सञ्चालित नेटवर्किङ कम्पनी, सर्कसमा जाने किशोरी बढी रहेका छन् । 

वीरगन्ज नाका हुँदै तेस्रो देश जानेहरू राहदानी अरू कै हातमा पठाई आफूहरू रक्सौल बजारमा किनमेल गर्न आएको भन्दै बहाना बनाउने गरेको पाइएको पौडेलले जानकारी दिनुभयो । 

कतिपय महिला मुस्लिम धर्मावलम्बीको पहिरन (नकाब) लगाएर सीमा पार गर्ने, दलालले नाकासम्म महिलाका अभिभावककै प्रयोग गर्ने, रोजगारको अवसर र आर्थिक प्रलोभनका कारण भारततर्फ जाने गरेको भेटिएको छ । 

विगतका वर्षहरूमा अधिकांश किशोरी तथा युवतीहरूलाई दलालहरूले रोजगारीको बहानामा भारतका विभिन्न सहरमा पुर्‍याएर कोठीमा बिक्री गरेका घटना बढी भए पनि यस वर्ष भने नेटवर्किङ कम्पनीमा जागिर र सर्कसमा पुर्‍याउने गरेका घटना बढी रहेको पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button