तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचारको अभियोगमा आरोप पत्र दायर

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित तीन जनालाई गैरकानुनी लाभ वा हानि पुर्याएको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ ।

आयोगले सो नगरपालिकाबाट आव २०७९/८० मा वडा नं २ अन्तर्गत सडक मर्मतका लागि बोलपत्र सूचना राष्ट्रियस्तर वा स्थानीय समाचार पत्रमा प्रकाशन गर्नुपर्नेमा सूचना प्रकाशन नै नगरी झुठा बिल, भर्पाई बनाउन लगाई भुक्तानी दिई–लिई भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रशासकीय अधिकृत मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र जनप्रतिविम्ब दैनिकका प्रकाशक/प्रधान सम्पादक सञ्जयकुमार साहलाई प्रतिवादी बनाएर आरोप पत्र दायर गरेको हो । 

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रु ६५ हजार कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजाय गरी बिगो असुलउपर हुन मागदाबीसहित विशेषमा आरोप पत्र दायर गरिएको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button